प्रदेश 1

भूटानी शरणार्थीलाई पानीको समस्या

दमक । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका पाइप बगाएपछि अहिले सो सुविधाबाट वञ्चित हुनुपरेको छ ।

दुम्से खानेपानी योजनाअन्तर्गत भूटानी शरणार्थीलाई पनि ४० प्रतिशत सुविधा दिने सर्तमा ती योजना सञ्चालनमा ल्याइएको दुम्से खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष हिमदल भण्डारी बताउँछन् । त्यसअन्तर्गत हाल ५०० धारा जडान भइसकेको हो । हरेक वर्ष खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने र क्षति पु¥याउने गरेपछि दमक–३ उत्तरी क्षेत्रका बासिन्दा र भूटानी शरणार्थीले खानेपानीको समस्या भोग्न बाध्य हुनुपरेको अध्यक्ष भण्डारी बताउँछन् ।

दुम्से खानेपानीमा गत असारको अविरल वर्षा र बाढीका कारण तीनमध्ये दुई वटा मुहानमा क्षति पुगेको छ । मुहानको फिल्टर पाइप बगाएपछि प्रतिसकेन्ड १० देखि १२ लिटर ट्यांकीमा जम्मा हुने पानी हाल चार लिटरमा झरेको छ । ट्यांकीमा आवश्यक पानी जम्मा हुन नसकेपछि पानीको अभाव हुन थालेको हो ।

हालसम्म रु एक करोडभन्दा धेरै रकम खर्च भइसक्दासमेत पुग्दो र नियमित खानेपानी वितरण हुन सकेको छैन । भूटानी शरणार्थी दातृ निकाय यूएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडरेशनले रु ४२ लाख, उपभोक्ताले रु १० लाख, दमक नगरपालिकाको रु २० लाखसहित पटक पटक मुहान मर्मत खर्च र पाइप विस्तार गरी रु एक करोडभन्दा धेरै खानेपानीमा खर्च भइसकेको छ । तर पनि यहाँका बासिन्दाले पर्याप्त र शुद्ध पानी पिउन नपाएको गुनासो स्थानीय मानबहादुर लिम्बूको छ ।

दमक–३ स्थित दुम्सेकी सरिता राई नजिकै रहेको मावा खोलाबाट पानी ल्याएर आफ्नो दैनिक गर्जो टार्ने गरेको बताउनु हुन्छ । राईको घर नजिकै पानीको धारापानी छ । तर पानी आउँदैन । जसका कारण अनेकौँ जोखिम मोलेरै भए पनि खोलाको धमिलो पानी उपभोग गर्न बाँध्य हुनपरेको राईको गुनासो छ ।