प्रदेश 1

क्यान्सरपीडितलाई सहयोग

इटहरी । क्यान्सर रोगद्वारा पीडित विकास राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । आर्थिक अवस्था कमजोर भएका उदयपुर कटारी निवासी राईलाई धरानमा आइतबार आयोजित कार्यक्रममा रु एक लाख तीन हजार ६५० रकम सहयोग प्रदान गरिएको हो ।

लामो समयदेखि धनकुटाको भेडेटारमा कुकको काम गर्दै आएका क्यान्सर पीडित राईलाई केही महिनाअघि मलद्वारमा क्यान्सर भएपछि उपचार गर्न पैसा नभएकाले उनका परिवारले सामाजिक सञ्जालमा ज्यान बचाउन सहयोगका लागि अपिल गरेका थिए ।

सामजिक सञ्जालको अपिल देखेर नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेस बर्दियाका महासमिति सदस्य जन्मजय तिमिल्सिनाले नेपाल दक्षिण कोरिया जनसम्पर्क समितिसँग पहल गरी उक्त रकम संकलन गरी नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईलाई उपलब्ध गराएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस धनकुटा क्षेत्र नं १ का क्षेत्रीय सभापति जीतेन्द्र रुम्दाली, नेपाल आदिवासी जनजाति संघ, सुनसरी सभापति नन्दराज राई, नेपाल तरुण दलका सचिव प्रेमकुमार राई, नेपाल तरुण दल धनकुटा सभापति तिलक महतलगायतले सहयोगको कार्य सराहनीय भएको धारणा राखेका थिए ।