अन्तर्राष्ट्रिय

निरिह र नाम मात्रका विपक्षी दलहरुका कारण हुन सेनको विजय निश्चित

नोमपेन्ह । कम्बोडियाको आज सम्पन्न निर्वाचनबाट हुन सेनको ३३ वर्षे प्रधानमन्त्रीत्वकाल पुनः थप हुने भएको छ । निरिह र नाम मात्रका विपक्षी दलहरुका कारण हुन सेनको विजय सुनिश्चित भएको हो । उनको विजयसँगै प्रकारान्तरले कम्बोडियो एक–दलीय राज्यमा रुपान्तरित हुनेछ ।

हुन सेन सन् १९८५ मा कम्बोडियाको सत्तामा आएका थिए । सत्तामा आएसँगै उनले नागरिक समाज, सञ्चार माध्यम र राजनीतिक विपक्षीहरुको दायरा साँघुरो बनाए । पश्चिमा देशहरुले विश्वसनीय चुनावको आधार समाप्त भएको भन्दै सहयोग बन्द गरेका छन् भने अधिकारवादी संस्थाहरु र विपक्षीहरुले लोकतान्त्रिक प्रक्रियालाई दबाएको आरोप लगाएका छन् ।

चुनावमा हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) का बिरुद्धमा साना र नामै नसुनिएका १९ वटा दल चुनावी प्रतिस्पर्धामा छन् । मुख्य विपक्षी दल कम्बोडिया नेसनल रेस्क्यू पार्टी (सीएनआरपी) लाई नोभेम्बर २०१७ मा सर्वोच्च अदालतले विघटन गरेपछि हुन सेनलाई चुनावमा चुनौती दिने कुनै बलियो शक्ति देखिएको छैन ।

को हुन् हुन सेन ?
कम्बोडियाली नेता हुन सेनले आफ्नो ३३ वर्षीय शासनकालमा निर्दयी खमेर रुजभन्दा पनि बढी समय शासन गरिसकेका छन् भने राजतन्त्रलाई पाखा लगाए र आफ्ना विपक्षीलाई दबाए । उनले आफूलाई मुलुकको संरक्षक र राजनीतिक दक्षता भएको व्यक्तिका रुपमा स्थापित गर्नुमात्र होइन, आगामी पाँच वर्षका लागि सत्तामा आफूलाई स्थापित गर्नेछन् ।

चुनावी मतदानस्थल बाहिर औंलामा दलेको मसी देखाउँदै यी ६५ वर्षीय धुरन्धर नेताले आफ्नो विजयलाई कसैले छेक्न नसक्ने संकेत दिएका छन् । यति लामो समय शासनमा रहेका विश्वकै दुर्लभ नेताको श्रेणीमा उनले आफूलाई उभ्याएका छन् ।

हुन सेन कुनै समय कम्बोडियाका अतिवादी माओवादी संगठन खमेर रुजका कार्यकर्ता थिए । खमेर रुजले अमेरिकी समर्थनमा बनेको लोन नोलको सत्तालाई पराजित गर्नुका साथै सन् १९७५ देखि १९७९ को बीचमा कूल जनसंख्याको झण्डै एक तिहाईको हत्या गरेको थियो ।

आफूलाई त्यस आन्दोलनबाट चोखो देखाउन उनले बिद्रोह गरे, खमेर रुजको पराजयसँगै मुलुक फर्किए र कम्बोडियालाई थप अराजकताबाट बचाउन भूमिका निर्वाह गरेको देखाए ।

यी महत्वाकाँक्षी पूर्व लडाकूलाई ३२ वर्षकै उमेरमा सन् १९८५ मा प्रधानमन्त्रीका रुपमा नियुक्त गरियो ।

लोकतान्त्रिक पद्धति अनुसार राष्ट्रसंघको रेखदेखमा सम्पन्न सन् १९९३ को पहिलो चुनावमा हुन सेन पराजित भए । तर सन् १९९७ को रक्तपातपूर्ण सत्ता विद्रोहबाट उनले पुनः सत्ता कब्जा गरे । उनीमाथि सेनासँग घनिष्ट सम्बन्ध स्थापना गरेको, आफन्त र छोराहरुलाई मुख्य सुरक्षा संयन्त्रहरु हस्तान्तरण गरेको आक्षेप लाग्ने गरेको छ ।

हालैका वर्षहरुमा चीनले कम्बोडियालाई पूर्वाधार निर्माणमा नगद र सस्तो दरमा ऋण उपलब्ध गराएर हुन सेनलाई राम्रै भरथेग गरेको छ जसका कारण पश्चिमा मुलुकसँग हुन सेनको परनिर्भरता घटेको छ ।

सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टीले सन् १९९८ यता कुनै पराजय व्यहोर्नु परेको छैन । सन् २०१२ मा गठन भएको कम्बोडिया नेसनल रेस्क्यू पार्टी ९सीएनआरपी० ले सन् २०१३ मा ४४ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको थियो । उनीहरुले सन् २०१७ को स्थानीय चुनावमा पनि यही नतिजा ल्याएका थिए । तर उनीहरुको प्रगतिलाई अदालतको आदेशबाट ध्वस्त पारियो ।

पेरिसमा निर्वासित जीवन बिताइरहेका सीएनआरपीका सह संस्थापक नेता साम रेन्सीले खमेर रुजबाट प्रशिक्षित हुन सेनले हिंसा र दण्डहीनताको बलबाट सत्ता कसरी हत्याउन सकिन्छ भन्ने राम्रैसँग बुझेको प्रतिक्रिया दिए ।