स्वास्थ्य

महिला रक्तदाता बढ्न सकेन

काठमाडौँ । पुरुषको तुलनामा महिला रक्तदाताको संख्यामा सुधार हुन सकिरहेको छैन । ‘रक्तदान गर्दा स्वास्थ्यमा खासै असर पर्दैन’ भन्ने पर्याप्त जानकारी नहुँदा महिला रक्तदाता संख्या बढ्न नसकेको हो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले गत वर्ष ६२ हजार ३५३ युनिट रगत संकलन गरेको थियो । ती मध्ये १० हजार ६८ युनिट महिला र ५२ हजार २८५ पुरुष रक्तदाताबाट संकलन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा महिला रक्तदातामा केही सुधार देखिएको छ । अघिल्लो वर्ष करीब नौ हजार महिलाले रक्तदान गरे । “ महिला रक्तदाताको संख्या बढाउन देशव्यापी अभियानमा जुटिरहेको छ,” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भने ।

देशव्यापीरुपमा आर्थिक वर्ष २०७४/७५ मा दुई लाख ६२ हजार ४३९ युनिट रगत संकलन भएको थियो । तीमध्ये तीन लाख ४४ हजार ९३३ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको थियो ।

हाल ७३ जिल्लाका १०८ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइबाट रक्त संकलन भइराखेको छ । ती रक्तदातामध्ये ६६ जनामा एचआइभी पोजेटिभ देखिएको छ । केन्द्रका अनुसार हेपाटाइटिस बी र सी देखिएका रक्तदाताको संख्या क्रमशः ४६६ र ३५१ छ ।

नेपालभर ३।१० प्रतिशत रक्तदातामा ए, बी, ओ र एबी नेगेटिभ रहेको जनाइएको छ । तर उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने रक्तदाता २।९ प्रतिशत रहेको बताइएको छ ।

नेपालमा विसं २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको स्थापना भएको थियो । सो वर्ष १५७ युनिट रगत संकलन भयो । काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी रगत खपत हुने गर्दछ ।

यसैबीच, केन्द्रको ५२ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आइतबार मनाइयो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थापाले रक्तसञ्चार सेवा र वितरणलाई अझ गुणस्तरीय बनाउन सोसाइटीले उच्च प्राथमिकता दिएको चर्चा गर्दै रक्तसञ्चार सेवामा सरकारको लगानी बढाउँदै लान आग्रह गरे ।

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा हरिशचन्द्र उप्रेतीले ५२ वर्षदेखि रक्तसञ्चार सेवामा केन्द्रले राम्रो काम गर्दै आएको बताए ।

केन्द्रका प्रमुख डा मनिता राजकर्णिकारले अझै १८ प्रतिशत रगत सेवा बिरामीको आफन्तबाट सोध भर्ना गर्नुपरेको अवस्थालाई अन्त्य गर्न केन्द्रले जोड दिइराखेको छ भने ।

कार्यक्रममा सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकाल, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, आइसीआरसीका प्रतिनिधि प्रमेश पौडेल, नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वा र उममहामन्त्री हरि न्यौपानेले रक्तसेवा केन्द्रका गतिविधिबारे चर्चा गरे ।

नेपाल रेडक्रसले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अतिरिक्त विराटनगर, पोखरा, नेपालगञ्ज, कैलाली र चितवन पाँच स्थानमा क्षेत्रीय रक्तसञ्चार सेवा, २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक तथा ३८ वटा अस्पतालमा रक्तसञ्चार सेवा एकाइको सञ्चालन भइराखेको सोसाइटीका सञ्चार अधिकृत दीव्यराज पौडेलले जानकारी दिए ।