बाग्मती

कोदारी राजमार्ग मर्मतमा ध्यान दिन आग्रह

काठमाडौँ । नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराएको छ ।

गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै आएकाले मर्मतमा ध्यान दिन र यातायात सञ्चालनमा सहज वातावरण बनाउन उनीहरुले आग्रह गरे।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सिन्धुपाल्चोककाका सांसद अग्निप्रसाद सापकोटाले कोदारी राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको र स्थानीयवासी सबैभन्दा बढी प्रभावित भएकामा गुनासो गरे । उनले कोदारी राजमार्गको मर्मतसम्भारमा ध्यान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरे ।

यस्तै सांसद उमा रेग्मीले भीमदत्त नगरपालिका–३ मा किशोरीलाई बलात्कार गर्ने दोषीलाई कडा कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरे । उनले सुन तस्करीमा संलग्नलाई कारवाही गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले भूकम्पपीडितले घर तथा आवास निर्माणमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको ऋणको ब्याज पटक पटक बढाइएको भन्दै आपत्ति प्रकट गरे । उनले पीडितलाई थप पीडित बनाउने गरी बैंक तथा वित्तीय संस्थाले पटक पटक ब्याज बढाएको र ऋण तिर्न समेत ताकेता गरेकामा गुनासो गरे ।
उनले डडेल्धुरामा निर्माणाधीन पुल निर्माण व्यवसायीको लापरवाहीका कारण भत्किएको भन्ने जानकारी आएकाले दोषीलाई कारवाही गर्न र आवश्यक जानकारी सदनलाई गराउन यातायातमन्त्रीको ध्यानाकर्षण गराए ।

सांसद विमलप्रसाद श्रीवास्तवले नेशनल मेडिकल कलेजलाई मोटो रकम कर छुट दिइएको भनी आपत्ति प्रकट गर्दै सम्बन्धित निकायले तत्काल छानबीन गर्न माग गरे ।

गोलभेँडा निकासी रोकिएकामा आपत्ति

सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडा भारत निकासी हुन नसकेको र काँकडभिट्टा भन्सारमा रोकिएकामा गुनासो गरे ।

उनले किसानको गोलभेँडा खेर जाने अवस्था आएको र भन्सारमा नै रोकेर समस्या खडा गरिएको छ भन्दै किन त्यस्तो भएको हो भन्ने बारेमा जानकारी दिन आग्रह गरे । सांसद भरतकुमार शाहले प्रा डा गोविन्द केसीसँग भएको सम्झौताको अक्षरशः कार्यान्वयन गर्न माग गरे ।

पहिरोपीडितलाई राहत कहिले ?
सांसद भैरवबहादुर सिंहले पहिराका कारण बझाङ जिल्लाको आवतजावत बन्द भएको र स्थानीयवासी प्रभावित भएका छन् भन्दै जयपृथ्वीबहादुर राजमार्गको मर्मतमा ध्यान दिन आग्रह गरे ।

उनले पहिराबाट खप्तड क्षेत्रमा एकै परिवारका चार जनाको निधन भएको, थलाला गाउँपालिकामा पनि सोही संख्यामा मृत्यु भएको छ भन्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गरे । उनले पहिराले जलविद्युत् आयोजनाको बाँध बगाएका कारण सदरमुकामसमेत अन्धकार हुन पुगेकाले आयोजनाको मर्मतमा ध्यान दिनुपर्ने बताए ।

सांसद रंगमती शाहीले जिल्लामा रहेका महिला विकास कार्यालय खारेज भएपछि महिला नै बढी प्रभावित भएकाले सो कार्यालयको उचित प्रबन्ध गर्न माग गरे । सांसद हरि अधिकारीले ‘जनयुद्ध’का समयमा शहादत प्राप्त गरेका र बेपत्ता पारिएका नागरिकका परिवारले हालसम्म परिचयपत्र नपाएको बताउँदै तत्काल परिचयपत्र दिने व्यवस्था गर्न माग गरे । उनले गोरखाका विभिन्न क्षेत्रमा बाढीपहिराका कारण जनजीवन प्रभावित भएकाले राहत तथा उद्धारको प्रबन्ध गरिनुपर्नेमा जोड दिए । सांसद नारायणप्रसाद खतिवडाले रसुवाको टिमुरेमा पहिराका कारण जनधनको क्षति भएकाले पीडित परिवारलाई राहत दिन अनुरोध गरे ।