गण्डकी प्रदेश

प्रहरीद्वारा घरेलु मदिरा बरामद

बेँशीसहर, लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट आज पाँच ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ ।

प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य पदार्थ बिक्री वितरणमा विशेष निगरानी बढाएको बताए ।

प्रहरीले शुरु गरेको ‘टोलटोलमा प्रहरी अभियान’ मा विशेषगरी अवैध मदिरा नियन्त्रणलाई प्राथमिकता राखेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

अवैध घरेलु मदिराको बिक्री वितरणमा कडाई गर्न थालेको प्रहरीले जिल्लाका सुन्दरबजार, मध्यनेपाललगायतका स्थानबाट पनि ठूलो मात्रामा घरेलु मदिरा जफत गरी नष्ट गरेको थियो । गस्तीका क्रममा बरामद गरिएका मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा नष्ट गर्ने प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा खुलेआमरुपमा बिक्री भइरहेको पाइएपछि लमजुङ प्रहरीले अभियानकै रुपमा कडाई गरेको हो ।