बाग्मती

मुसहर बस्ती निर्माणका लागि रु तीन लाख सहयोग

रत्ननगर, चितवन । रोटरी क्लब अफ रत्ननगरका तृतीय उपाध्यक्ष प्रकाश अर्यालले मुसहर बस्ती निर्माणका लागि रु तीन लाख रकम हस्तान्तरण गरे ।

रोटरी क्लब अफ रत्ननगरको पदस्थापन कार्यक्रममा शनिबार राति रत्ननगरमा आयोजित एक कार्यक्रमबीच उनले उक्त रकमको चेक रोटरी क्लब अफ रत्ननगरलाई हस्तान्तरण गरेका हुन् । चितवनको सौराहास्थित मुसहर बस्तीमा रत्ननगर रोटरीको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको छ ।

आफ्नो पहलमा रोटरी अष्ट्रेलिया वल्ड कम्युनिटी सर्भिसले रु दुई लाख ८१ हजार पठाएको र त्यसमा आफूले रु १९ हजार थपेर रु तीन लाख मुसहरको घर निर्माणका लागि हस्तान्तरण गरिएको अर्यालले बताए।
रोटरी क्लब अफ रत्ननगरले सौराहामा हालै मुसहरका लागि १२ घर निर्माण गरेको छ भने अझै केही घरहरु निर्माण गर्ने घोषणा गरेको छ ।

यसैबीच शनिबार रत्ननगरमा रोटरी क्लब अफ रत्ननगर, रोट्र्याक्ट क्लब अफ रत्ननगर र इन्ट्र्याक्ट क्लब अफ रत्ननगरको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

रत्ननगर रोटरीका निवर्तमान अध्यक्ष विष्णु शर्माले नयाँ अध्यक्ष जनक पौडेललाई, रोट्र्याक्टका विनोद खतिवडाले नयाँ अध्यक्ष नवीन दवाडी र इन्ट्र्याक्टका अभिषेक घिमिरेले नयाँ अध्यक्ष स्मृति वनलाई पद हस्तान्तरण गरेका थिए । रोटरी क्लब अफ नेपाल एण्ड भुटान ३२९२ को सन् २०१९/२० का लागि निर्वाचित गभर्नर किरणलाल श्रेष्ठले सामूहिक एकताबाट रोटरीले धेरै काम गर्दै आएको भन्दै एकता नै बल भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले रोटरीले समाजमा गरेको योगदानको खुलेर प्रशंसा गरे ।