कर्णाली प्रदेश

भिरबाट खसेर महिलाको मृत्यु

सुर्खेत । लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए । शवपरीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ ।

त्यसैगरी साउन १० गते दिउँसो ३ बजे घरबाट हराएका सुर्खेत बराहताल गाउँपालिका–५ सोतखोला निवासी लीलाराम भण्डारीका ३ वर्षीय छोरा बाबुराम भण्डारी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार ५ बजे उनी झुलखोला भन्ने स्थानमा मृत फेला परेका थिए । फेला परेको शवको परीक्षण र सतगदका लागि आफन्तलाई बुझाइएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको जनाइएको छ ।