आर्थिक

कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु

बाबियाचौर, म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ र ७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण शुरु भएको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले पक्की मोटरेबल पुल निर्माण शुरु गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि रु १९ करोडमा हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले ठेक्का सम्झौता गरेको छ ।

बर्खाको प्रतिकूल मौसम र कालीगण्डकीको बाढीका बाबजुद पनि कामलाई तीव्र रुपमा अघि बढाएको कार्यालयका सब इञ्जिनियर टीका रेग्मीले जानकारी दिए । ११ मिटर फराकिलो पुल दुई लेनको हुने छ । ८० मिटर लामो महभिर पुलको बीच भागमा रहने पिल्लर निर्माणको काम आधाभन्दा बढी सकिएको छ । निर्माणस्थलको विवाद समाधान भएपछि पोखरेबगरमा पनि पुल निर्माणको काम शुरु गर्ने कार्यालय र निर्माण कम्पनीले जनाएका छन् ।

पुल निर्माणस्थलमा रहेको मन्दिरलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा स्थानीय र कार्यालयबीच सहमति जुट्न सकेको छैन । गत फागुनदेखि कार्य क्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले दुई वर्षमा काम सक्ने लक्ष्य राखेको छ । ७० मिटर लामो बनाउने भनिएको पोखरेबगरको पुल निर्माण अवधि भनेपछि ढकेलिने खतरा बढेको छ । विसं २०६४ मा ट्र्याक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलिब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन् ।

भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि चीनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्र र स्तरोन्नतिको काम भइरहेको छ । रु छ अर्बको लागतमा बेनीदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्र र जोमसोमदेखि कोरला सम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न ११ वटा खण्डमा काम भइरहेको छ । सडक स्तरोन्नतिसँगै मोटरेबल पुल निर्माणको कामसमेत अघि बढेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

सो सडक स्तरोन्नति र कालोपत्र भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नाका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र ब्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए ।