बाग्मती

तीन सय नयाँ उद्योग दर्ता

बाबियाचौर । म्याग्दीमा पछिल्लो एक वर्षयता करीब तीन सय वटा घरेलु तथा साना उद्योग थपिएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा २८४ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा उद्योग विकास समितिको कार्यालयले जनाएको छ । यसैगरी ११३ वटा व्यावसायिक फर्म दर्ता भएको कार्यालयका खरिदार इन्द्र पौडेलले जानकारी दिए ।

अघिल्लो आवको तुलनामा उद्योग तथा फर्म दर्तामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आव २०७३७४ मा १२४ उद्योग र ६८ व्यावसायिक फर्म दर्ता भएको थिए । स्थानीय तहले करको दायरामा ल्याउन पहल गरेको र व्यवसाय गर्नेहरुसमेत सचेत भएकाले दर्ता हुने क्रम बढेको वरिष्ठ उद्योग विकास अधिकृत शंकर झाले बताए ।

गत आवमा ११७ उद्योग र १६७ वटा वाणिज्य फर्म नवीकरण भएका छन् । छ वटा उद्योग र सात वटा वाणिज्य खारेज भएको छ । १६२ लघुउद्यमी र १७ जना महिला उद्यमीले ३५ प्रतिशत राजश्व छुटको सुविधा लिएर उद्योग दर्ता गराएका छन् ।

जिल्लाभर एक हजार ७१३ वाणिज्य फर्म र एक हजार ८२५ उद्योग दर्ता भएका छन् । उद्योग र फर्म दर्ता तथा नवीकरणबापत कार्यालयले रु ३२ लाख ७७ हजार ७९५ राजश्व संकलन गरेको छ । अघिल्लो वर्षमा रु २७ लाख ७९ हजार ९०० राजश्व संकलन भएको थियो ।

पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामूलक उद्योगको दर्ता बढेको खरिदार पौडेलले बताउनुभयो । बीमा, बैङ्क कर्जा र अनुदान सुविधाका लागि व्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था कारण वर्षांैदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हँुदै आएका उद्योग तथा फर्मसमेत दर्ता हुन थालेका छन् ।

यसैबीच कार्यालयले गत वर्ष २१ उद्योगी तथा व्यवसायीलाई उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत अनुदान दिएको छ । ४० जनाले आवेदन दिएकामा योग्य ठहरिएका २२ मध्ये २१ जनाले विभिन्न यन्त्र, उपकरण र औजार खरीद गर्न रु एक लाख बराबरको अनुदान पाएको समितिले जनाएको छ ।

बिस प्रतिशत स्वलगानी र असी प्रतिशत अनुदान रहेको उद्योग विकास अधिकृत झाले बताए ।

यसैगरी कार्यालयले गत वर्ष विभिन्न ठाउँमा ४४८ जनालाई सीपमूलक तालीम प्रदान गरेको छ । डकर्मी, अल्लो प्रशोधन, उद्यमशीलता, सिलाइकटाई, झोला तथा सल बुनाइ, धागो उत्पादन, उनी स्वेटर, हाउस वायरिङ, होजियारी, नागासल बुन्ने तालीम दिइएको समितिले जनाएको छ ।