पर्यटन/संस्कृति

बराह ताल जाने पदमार्ग बन्यो

बाबियाचौर । मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराहताल जोड्ने पदमार्ग निर्माण भएको छ ।

गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत् निस्कोटदेखि बराहताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् ।

गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेऊसम्म ४३० मिटर पदमार्ग निर्माण भएको वडाअध्यक्ष टंक पुनले जानकारी दिए।

साढे चार फुट चौडाइ भएको ढुंगाको सिँढीसहितको पदमार्ग निर्माण भएको हो । उक्त पदमार्गको निर्माण स्थानीय ५३ घरधुरी उपभोक्ताले दुई दिनका दरले श्रमदान गरेका थिए । यस वर्ष थप तीन सय ९० मिटर पदमार्ग निर्माण गरेपछि तालसम्म जोडिने वडाअध्यक्ष पुनले बताए ।

पदमार्ग निर्माण भएपछि गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

निस्कोट गाउँदेखि करिब २० मिनेट उकालो हिंडेपछि पुगिने बराहतालको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«ेलगायत १० वटा हिमाल देख्न सकिन्छ । ६० मिटर लम्बाइ, ४० मिटर चौडाइ र सात मिटर गहिराइ भएको तालमा हिमालको छायाँ निकै मनमोहक देखिन्छ ।

बराहतालको संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकास गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । पदमार्ग निर्माणकार्यको पूर्णतासँगै तालमा सधैँभरि पानी भरिभराउ बनाउने र घेराबार गर्ने योजना बनाइएको छ ।

तालको महत्वबारेमा प्रचार–प्रसार गर्न उत्सवको आयोजना गर्ने योजना बनाइएको पनि वडाध्यक्ष पुनले बताए ।