राजनीति

नेकपाका प्रवक्ता भन्छन्: मुद्दा ठम्याउनोस् अनि सरकारलाई घच्घच्याउनुहोस्

बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताएका छन् । आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्छ भने । सो अवसरमा पार्टीका आधारभूत तह अब चाँडै एकिकरण हुने जानकारी पनि श्रेष्ठले दिए ।

प्रवक्ता श्रेष्ठले भने, “मधेसका मुख्य मुद्दा ठम्याउनोस्, ती मुद्दाको सम्बोधनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई घच्घच्याउनुहोस् ।” मधेशका सर्वसाधारण जनताको मुद्दा अहिले आफ्नो पार्टीले उठाएर सम्बोधन गर्न सके ठोस् उपलब्धि हुने उनको भनाइ थियो ।

राजनीति र अवसरसँग जोडिएका मधेशका धेरैजसो मुद्दा अब राष्ट्रिय सरोकारका विषय बनिसकेको श्रेष्ठको भनाइ छ । मुलुकको विकास र समृद्धिको अभियानको थालनी मधेशबाटै थालिए लक्ष्य छिट्टै भेटिने श्रेष्ठले बताए ।

अहिले संघीय, छ वटा प्रदेश र बहुसंख्यक स्थानीय तहमा पार्टीको नेतृत्वको सरकार भएकाले काम गरेर देखाउन उपयुक्त अवसर भएको श्रेष्ठले बताए । विपक्षी दललाई फु गरेर ढल्ने सरकारझै गरी अनावश्यक खोचे थाप्ने र बखेडा ओछ््याउने काममा नलागी रचनात्मक विपक्षीको भूमिका देखाउन श्रेष्ठले आग्रह गरे ।

कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्य, जिल्लाका सबै स्थानीयतहमा तत्कालीन एमाले र माओवादी केन्द्रमा आवद्ध कार्यकत्र्ता र जनवर्गीय संगठनका नेताको सहभागिता छ ।