समाचार

यसरी लुटिए घर फर्किदै गरेका नेपाली मजदुर

भीमदत्तनगर । भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका तीन नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् ।

तीन जनालाई बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी छाडेर गएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ ।

लुटिनेमा कैलालीको लम्कीचुहा नगरपालिका– ९ प्रतावपुरका १६ वर्षीय गौरभ चौधरी, २१ वर्षीय राजेश चौधरी र धनगढी उपमहानगरपालिका– १ का ३२ वर्षीय श्रवण राना रहेका छन् ।

अर्धचेत अवस्थामा रहेका तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ‘बनवासा पुल नजिकै पेयपदार्थ (चिसो) खुवाएर हामीलाई कता लगे थाहा नै पाएनौ ।’ गौरभले भने–“लुटेर समूह तीनजना नेपाली भाषी नै थिए ।” लुटेराहरुले आफूसित रहेको नगद, मोबाइल सेटका साथै अन्य सरसामान लुटेर लगेको उहाँले बताए ।

बालिका हत्याको सर्वत्र विरोध

यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्याको सर्वत्र विरोध एवं भत्र्सना गरिएको छ ।
साथीको घरमा विद्यालयको गहृकार्य गरेर घर फर्किरहेकी बालिकाको हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गर्र्दै भीमदत्त नगरपालिका, विभिन्न विद्यार्थी संगठन र आम नागरिकले भत्र्सना गरेका छन् ।

प्रदेश नं ७ मा बालिका विद्यार्थी हत्या जघन्य अपराध भएको भन्दै एकपछि अर्को हत्याका घटना भइरहेको प्रति चिन्तासमेत व्यक्त गरिएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले घटना दुखद भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरे ।

घटनापछि आक्रोसित स्थानीयवासीले शुक्रबार साँझ महेन्द्रनगर बजारमा प्रदर्शन गर्नुका साथै बजार बन्दसमेत गरेका थिए । सुरक्षाको माग गर्दै बजारमा प्रदर्शन गरिरहेका स्थानीयवासीमाथि प्रहरीले २२ राउण्ड अश्रृग्यास समेत प्रहार गरेको थियो ।

‘भीमदत्त नागरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको हो ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले भने–“हामी घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।”

बालिकाको शव परीक्षणपछि आज बिहान परिवारको जिम्मा लगाउने प्रयास भइरहेको छ । घटनामा संलग्नताको आशंकामा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।