समाचार

कल बाइपासमा संलग्न न्यौपाने समातिए

काठमाठौं । अवैध भिओआइपी कल बाइपासमा संलग्न एक नागरिकलाई समातिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले विहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ झुलेनीपुर स्थित भानुकक्त न्यौपानेको घरमा अवैध रुपमा सञ्चालन भइरहेको भिओआइपी कल बाइपासमा संलग्न राम प्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका न्यौपानेबाट ६४ पोर्टको भिओआइपी गेटवेय भएको एक थान सिम बक्स, टिपलिंकको राउटर एक थान, एक थान ल्याप्टप, एक थान नोकिया मोबाइल, सामसुङ मोबाइल एक थान, १७ थान एनटिसीको सिमकार्ड, स्मार्ट सेलको सिमकार्ड १९ थान, मोडर्न २ थान, मल्टिप्लग एक थान, भिओआइपी एन्टेना १६ थान, १० थान एनटिसिको रिचार्जकार्ड, एनसेलेको ५० को रिचार्ज ७ थान, एनटिसिको प्रयोग नभएको १०० को रिचार्ज १५ थान र एनटिसिको ५० को रिचार्ज ५ थान बरामद गरिएको छ ।

सिआइबीका अनुसार मुख्य अभियुक्त पाकिस्तानी नागरिक सोयव खान र मुनिर विकास रहेका छन् ।

पक्राउ परेका न्यौपानेलाई दूरसंचार ऐन २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिइ अनुसन्धान जारी छ ।

सिआइबीले हालसम्म १०६ स्थानमा कारबाही गरिसकेको छ । हालसम्म नेपाली १३० र विदेशी ३४ जना नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरु विरुद्ध सिआइबीले ११ अर्ब ९१ करोड एक लाख १६ हजार १ सय ६३ रुपैयाँ ६५ पैसा विगो दाबी गरी अदालतमा मुद्दा चलाएको छ । सिआइबीका अनुसार हालसम्म विभिन्न दूरसंचार कम्पनिहरुका २३०३२ थान सिम बराम द गरेको छ ।