स्वास्थ्य

सर्पदंशका लागि एन्टीभेनम सुई वितरण

हेटौँडा । प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पदंश बढेकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ ।

ती दुवै प्रदेशका जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशबाट प्रभावित व्यक्तिलाई तत्काल उपचार गनै एन्टीभेनम सुईको भायल शुक्रबार उपलब्ध गराइएकोे क्षेत्रीय मेडिकल स्टोर हेटौँडाले जनाएको छ । एन्टीभेनम सुई १५० देखि बढीमा ८०० भायलसम्म सम्बन्धित जिल्ला अस्पताल, स्वास्थ्यचौकी र प्राथमिक उपचार केन्द्रमा पठाइएको मेडिकल स्टोरका प्रमुख रमण झाले बताए ।

सो एन्टीभेनम सुईको भायल २ नं प्रदेशका जनकपुर अञ्चल अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, महोत्तरी जिल्ला अस्पताल, रौतहट जिल्ला अस्पताल, कलैया जिल्ला अस्पताल, मलगंवा जिल्ला अस्पताल, नवलपुर स्वास्थ्यचौकी सर्लाही र निजगढ स्वास्थ्यचौकी बारामा उपलब्ध गराइएको छ ।

यसैगरी प्रदेश नं ३ का सिन्धुली जिल्ला अस्पताल र भरतपुर अस्पतालमा एन्टीभेनम सुई उपलब्ध गराइएको क्षेत्रीय मेडिकल स्टोरबाट थाहा भएको छ ।