समाचार

सहकारीमा चार करोड ठगीको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार पक्राउ गरी आज केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो ।

ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो ।

को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।