उर्जा

विद्युत् सेवा सुरक्षित र गुणस्तरीय हुनुपर्छः मन्त्री पुन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् सेवा सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले विद्युत् सेवा भरपर्दो हुनुपर्ने बताए ।

नांगो तार र काठको पोलका कारण करेन्ट लागेर मृत्यु हुने र घाइतेको संख्या बढिरहेको भन्दै मन्त्री पुनले यसमा गम्भीर बन्न सम्बन्धित निकायलाई निर्देशन दिए । काठका पोल बिस्थापित गर्न रु तीन अर्ब बजेट आवश्यक रहेको भन्दै उनले त्यसको प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लैजाने बताए ।

“वर्षायाममा काठको पोलका कारण दुर्घटना धेरै भइरहेको छ, काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको छु, उनले मलाई अनुमति दिइसकेकाले यो प्रक्रिया छिट्टै अघि बढ्छ”–मन्त्री पुनले भने । उनले यसका लागि बजेटको समस्यासमेत नभएको बताए ।

मन्त्री पुनले गुणस्तरीय काम भए÷नभएको बारेमा अनुगमन गर्न समेत कर्मचारीलाई निर्देशन दिए । समयमै काम सक्न अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने उनको भनाइ थियो ।

मन्त्रालयले तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी १६ आयोजनाको छनोट गरिसकेको जानकारी दिँदै मन्त्री पुनले त्यसमा सहयोग गर्न आग्रहसमेत गरे । उनले सरकारले छनोट गरेका सबै आयोजनामा नाफा सुनिश्चित हुने दाबी गरे ।

महासंघका अध्यक्ष नारायण ज्ञवालीले नेपालमा विद्युत् उत्पादनको लामो इतिहास हुँदाहुँदै पनि एकीकृत ग्रामीण विद्युतीकरण नीति नहुँदा ग्रामीण क्षेत्रमा विद्युतीकरण हुन नसकेको बताए ।

ग्रामीण क्षेत्रमा विद्युतीकरण र सबै नागरिकमा विद्युत्को पहुँच पु¥याउन सहकारीको माध्यम र स्थानीय सरकारको सहभागितामा एकद्वार प्रणालीबाट मात्र सम्भव रहेको बताए ।