राजनीति

तोडफोडको आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ, झुट आरोपमा फसायो : काँग्रेस

त्रिशूली (नुवाकोट)। विदुर नगरपालिकामा बिहीबार भएको तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ ।
नगरपालिका कार्यालयमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघका नमराज सुवेदी, उत्सव श्रेष्ठ र नीरज चित्रकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

नगरपालिकाले नगरको सम्पत्तिमाथि आक्रमण गरी क्षति गर्नेलाई कारवाहीका लागि प्रहरी प्रशासनसमक्ष माग गरेपछि कांग्रेस कार्यकर्ता पक्राउ परेका हुन् ।
नगरपालिकाले लागू गरेको एकीकृत सम्पत्ति करको दर घटाउन माग गर्दै कांग्रेसका भ्रातृ संगठनले गरेको नगरपालिका घेराउ कार्यक्रममा तोडफोेड हुँदा तीन प्रहरी, एक कर्मचारी र बाह्र कांग्रेस कार्यकर्ता घाइते भएका थिए । सो तोडफोडबाट नगरपालिकाको रु १० लाखको क्षति भएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।

पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै कांग्रेसले प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा र प्रहरी प्रमुख वसन्तवहादुर कुंँवरको ध्यानाकर्षण गराएको छ ।

नगरपालिकाले आज वक्तव्य प्रकाशन गर्दै ज्ञापनपत्र बुझाउने बहानामा कांग्रेस र तरुण दलको झण्डा बोकी होहल्ला र नाराबाजी गर्दै १५० जनाको जत्था नगरपालिकाको परिसरमा हुलहुज्जत गर्दै प्रवेश गरी कार्यालय परिसरमा रहेका पदाधिकारीका सवारी साधन, फोहोरमैला परिवहन साधन, ढुवानीका साधनको ढुंगामुढाद्वारा तोडफोड गर्दै स्थानीय सरकारका पदाधिकारीको विरोधमा नारा जुलुस तथा नगरका पदाधिकारी एवम् कर्मचारीमाथि दुब्र्यबहार गरेको भनी भत्र्सना गरेको छ ।
काँग्रेस कार्यकर्तालाई झुट आरोपमा पक्राउ गरेको नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले बताए ।