राजनीति

महँगी बढेको छ, भ्रष्टाचार बढेको छ, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको छः सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन् ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो ।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उनले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए । केसीको माग पूरा गराउन विपक्षी दल काँग्रेसले पनि सहयोग गरेको उनको भनाइ थियो ।

डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न यहाँ आएका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाए ।

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साउन १५ गते गरिने आन्दोलन सरकारको विरोधस्वरुपको टोकन भएको बताए । देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उनले आरोप लगाए ।

फरक प्रसंगमा उनले अब हुने महासमिति बैठकले पार्टीभित्रको विवाद सल्टाउने बताए ।