स्वास्थ्य

नेता खनालको प्याराथाइराइड शल्यक्रिया

काठमाडौँ । चीनमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ ।

चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्समा उनको बिहीबार सफल शल्यक्रिया भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । शल्यक्रियापछि खनाल अहिले आराम गरिरहेका छन् ।

चिकित्सकको सल्लाहमा पूर्वप्रधानमन्त्री खनाल प्याराथाइराइड र मिर्गौलामा भएको पत्थरीको उपचार गर्न चीन गएका हुन् । उपचार गराउन चीन जानुअघि उनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, वीर अस्पतालमा उपचार गराउनुभएको स्वकीय सचिव भट्टराईले बताए । उनलाई विगत एक वर्षदेखि प्याराथाइराइडको समस्या भएको थियो ।

यही साउन ६ गते पत्नी रविलक्ष्मी चित्रकारसँग चीन गएका खनाल अझै १० दिन चिकित्सकको सल्लाहमा चीन बस्नेछन् ।