आर्थिक

रंगेली नगरपालिकामा इ–बिलिङ प्रणालीबाट राजश्व संकलन शुरु

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाले सरकारको नीतिअनुरुप सम्पूर्ण वडाबाट एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन शुरु गरेको छ ।

रंगेली नपामा रहेका नौवटा वडाबाट यही साउन १ गतेदेखि एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन गर्ने कार्य शुरु भएको नगरपालिकाका सूचना अधिकृत कृष्ण भट्टराईले वताए ।

नगरपालिकाका सबै वडाबाट दैनिक सरदर रु ३५ हजार राजश्व संकलन हुने गरेको छ । नगरपालिकाले नगरमा सम्पूर्ण ठेक्कापट्टाको कार्य अनलाइन माध्यमबाट गर्न शुरु गरेको छ । नगरपालिकाले भित्र हुने सम्पूर्ण निर्माण कार्य कम्प्युटर अनलाइन माध्यमबाट शुरु गर्दा नगरपालिकाको काम पारदर्शी देखिनाका साथै जनतामा सुशासनको अनुभूति हुने विचार नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले बताए ।
नगरपालिकाका नागरिकको बाहै्र महिना आवागमनमा सुविधा पु¥याउन गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६० किलोमिटर ग्राभेल बाटोलाई स्तरवृद्धि गर्नाका साथै चौडा गरेको छ । नगरपालिकाले चालू आवमा संघीय सरकार, प्रदेश सरकारको सहयोगमा उक्त सडकलाई कालोपत्रे गर्ने लक्ष्य लिएको सूचना अधिकृत भट्टराईले जानकारी दिए ।
यस्तै नगरपालिकाले गत आवमा नगर क्षेत्रमा रहेका ३५ वटा मठमन्दिर र मस्जिद जीर्णोद्धार गर्न रु एक करोड ५० लाख खर्च गरेको छ । नगरपालिकामा बसोबास गर्ने दलित समुदायको बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा रु एक हजार प्रोत्साहनस्वरुप प्रदान गर्ने गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक वृद्ध भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्दैआएको छ ।