लुम्बिनी

भूकम्प प्रतिरोधात्मक घर बनाउन इन्जिनियर सक्षम बन्दै

बुटवल । भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि रुपन्देहीको सैनामैना नगरपालिकाका इन्जिनियरलाई सक्षम बनाउन थालिएको छ ।

उनीहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी तालीम दिएर भवन निर्माण गर्दा रहने द्विविधा हटाउन तालीम प्रदान गरिएको सैनामैना नगरपालिकाका सबइन्जिनियर अरुण नेपालले बताए । उनले भने, “नगरपालिकामा घर नक्सा र डिजाइन बनाउँदा भूकम्प प्रतिरोधी बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।”

इन्जिनियर नेपालले नगर क्षेत्रमा निर्माण हुने संरचना भूकम्प प्रतिरोधी बनाउन उपलब्ध निर्माण सामग्रीको आधारमा रहेर घर निर्माणको १० प्रतिशत अतिरिक्त बजेटका आधारमा एउटा संरचना निर्माण गर्न सकिने बताए। उनले भूकम्प प्रतिरोधी घर निर्माण गर्दा लागत बढी आउँछ भन्ने भ्रम नराख्न आग्रह गर्दै केही अतिरिक्त लगानीबाट राम्रो घर निर्माण हुन्छ भने।

नेपालमा भूकम्पको जोखिम अहिले पनि भएकाले जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिइएको उल्लेख गर्दै नेपालले यहाँ निर्माण हुने संरचना पनि भूकम्प प्रतिरोधात्मक हुनुपर्ने आवश्यकता औँल्याए ।

तीव्र शहरीकरण भएको सैनामैना नगरपालिकामा ४५ हजार १७८ जनसंख्या रहेको छ जहाँ ३८९ प्रति वर्गकिलोेमिटर जनघनत्व छ । तीव्र बसाइँ सराइले जनसंख्या अत्यधिक वृद्धि भइरहेको छ । सो तालीममा ३३ जना सहभागी थिए । यसअघि ६२ जनालाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न डकर्मी तालीम दिइएको थियो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको भवनसंहितालाई आधार मानेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने आवश्यकता भएको बताए ।