आर्थिक

बर्दिवासको बजेट ८७ करोड

बर्दिवास । महोत्तरीस्थित बर्दिवास नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु ८७ करोड ३९ लाख छ हजारको बजेट सार्वजनिक गरेको छ ।

आज बजेट सार्वजनिकीकरण समारोहमा नगर प्रमुख विदुरकुमार कार्कीले दोस्रो नगरसभाले पारित गरेको सो बजेट सार्वजनिक गरे। सार्वजनिक गरिएको बजेटमा संङघीय सरकारबाट वित्तीय समानिकरण अन्तर्गत रु १७ करोड चार लाख, राजश्व बाँडफाँडबाट रु २६ करोड एकलाख तथा बहुक्षेत्रीय पोषण कार्यक्रमबाट रु २० लाख आय हुने उल्लेख छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरण अन्तर्गत रु ३३ लाख ९४ हजार, प्रदेश सरकारबाट रु एक करोड, आन्तरिक राजश्व संकलनबाट रु चार करोड ९८ लाख ६५ हजार र गत आवबाट बाँकी बचत रु १५ करोड ३७ लाख ३२ हजार हुने कार्कीले बताए ।

नगर सभाले व्ययतर्फ पूँजीगत खर्च रु ४२ करोड रु ११ लाख छहजार र चालुतर्फ रु १० करोड सातलाख खर्च हुने अनुमान गरेको छ । नगर प्रमुख कार्कीले गतअसार १० गते शुरु भई असार २८ गते सम्पन्न भएको नगरसभाले पारित गरेको बजेट आज सार्वजनिक गरे।