शिक्षा

विद्यालय तहदेखि कला शिक्षामा जोडदिनुपर्ने माग

काठमाडौँ । नेपालमा कला शिक्षालाई साना कक्षादेखि स्नातकोत्तर तहसम्म समावेश गरी कलाको विकास र प्रवद्र्धन गरिनुपर्नेमा पाठ्यक्रम निर्माता र कला विषयका प्राध्यापकले जोड दिए ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज) द्वारा कला शिक्षा विषयमा आज आयोजित ‘कलाका कुरा’ कार्यक्रममा उनीहरुले विद्यालय र कलेजस्तरमा औपचारिक शिक्षाका साथै अनौपचारिक रुपमा पनि कला प्रशिक्षण जस्ता अभियान चलाउनुपर्नेमा जोड दिए ।

नेपाल ललितकला क्याम्पसका प्रमुख डा रमेश पोखरेलले परम्परागत कला, लोककला, हस्तकला, सङ्गीत आदि विषय साना विद्यार्थीको दिमागमा पसाउन सके नेपाली कलाको विकास भई राष्ट्रियता फैलने र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने बताए । उनले विसं १९९१ मा त्रिचन्द्र कलेज, विसं १९९५मा जुद्धकला पाठशाला, विसं २०२४मा ललितकला महाविद्यालय हुँदै विसं २०६६मा प्रवीणता प्रमाणपत्र हटी स्नातकोत्तर तहमा कला शिक्षा अध्ययनअध्यापन भएको र विसं २०७०मा चारवर्षीय बिएफ (कलामा स्नातक तह) पनि शुरु भएको जानकारी दिँदै शुरुमा मुख्य विषयका रुपमा कला विषय अध्ययनअध्यापन गर्न १० विद्यालय छान्न सकिने बताए ।

सिर्जना कलेज अफ फाइन आर्टसका प्रमुख मदन चित्रकारले नेपालमा कला शिक्षाको अवसर छ भन्ने कुरा व्यापक प्रचारप्रसार गर्नुपर्ने बताउँदै ९, १०, ११ र १२ कक्षामा कला शिक्षा पाठ्यक्रम राख्नुपर्ने सुझाव दिए । कलेजका उपप्रमुख लक्ष्मण भुजेलले हरेक १० वर्षमा शैक्षिक पाठ्यक्रम परिवर्तन हुने गरे पनि कला शिक्षा भने प्राथमिकतामा नपरेको गुनासो गरे ।

पाठ्य विकास केन्द्र सानोठिमीका अधिकृत श्रीहरि श्रेष्ठले विसं २०५९मा राष्ट्रिय पाठ्यक्रम प्रारुप बनेपछि छुट्टै कला शिक्षा हुनुपर्ने नीति आएकोे तथा हाल ११ र १२ कक्षामा छुट्टै कला विषय राखिएको र प्राविधिक शिक्षातर्फ सङ्गीतको पनि पाठ्यक्रम राखिएको बताउँदै कलालाई विज्ञान, गणित, सामाजिक अध्ययन आदि विषयसँग जोडी अध्ययनअध्यापन हुनुपर्ने विचार राखे । उनले कक्षा ११ र १२मा जीवनोपयोगी शिक्षाका रुपमा लोककला, फोटोग्राफी, फेशन डिजाइन, कलाकौशल आदि विषय राख्ने तयारी भइरहेको जानकारी दिए ।

हाल नेपालमा करीब ३५ क्याम्पसले कला शिक्षाका लागि सम्बन्धन लिए पनि करीब १० कलेजले मात्र अध्ययनअध्यापन गर्दै आएको प्राज्ञ सुषमा राजभण्डारीले जानकारी दिएयो । सोफाजका अध्यक्ष केशवराज खनालले संस्थाबाट हरेक महीना कला विषयमा बहस चलाइएको जानकारी दिनुभयो भने महासचिव देवेन्द्र थुम्केलीले नेपालबाट वार्षिक रु २०अर्बको कला निर्यात हुने र यस क्षेत्रमा २५ हजार रोजगार रहेको जानकारी दिँदै यस क्षेत्रलाई उत्पादक क्षेत्रका रुपमा बुझी सरकारले संरक्षण गर्नुपर्ने बताए । सो अवसरमा सोफाजका सल्लाहकार श्याम रिमाल राष्ट्रिय समाचार समितिका प्रधानसम्पादकमा नियुक्त भएकामा सम्मान गरिएको थियो ।