अन्तर्राष्ट्रिय

युद्धमा मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता

सिओल । कोरियाली युद्धका क्रममा उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष आज अमेरिकालाई हस्तान्तरण गरिएको छ । ती अवशेष ल्याउन एउटा अमेरिकी सैनिक बिमान उत्तर कोरिया पुगेको थियो । ह्वाउट हाउसले यो घटनालाई “सकारात्मक” कदम भनेको छ ।

कोरियाली युद्ध समाप्तिको ६५औं वर्षका अवसरमा भएको यस अवशेष फिर्तीको घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच हालै सिंगापुरमा सम्पन्न ऐतिहासिक सम्झौताको एक हिस्साका रुपमा लिइएको छ ।

“यतिका वर्षपछि नै सही, धेरै आफन्तजनका लागि यो अपूर्व क्षण हो । धन्यवाद कीम जोङ उन,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् ।

ह्वाउट हाउसले अमेरिकी सैनिकको अवशेषको फिर्ती र “सकारात्मक परिवर्तनको यस क्षण”ले उत्साहित बनाएको जनाएको छ । “आजको यो कार्य उत्तर कोरियाबाट थप अरु सैनिकका अवशेष फिर्ता ल्याउनेतर्फ एक महत्वपूर्ण कदम हो । साथै, युद्धको समाप्ति पश्चात उत्तर कोरियाबाट स्वदेश फिर्ता नआएका अनुमानित ५,३०० अमेरिकी सैनिकको खोजी गर्न यसले मद्दत गर्नेछ,” ह्वाइट हाउसले भनेको छ ।

उत्तर कोरियाली तटीय सहर वोनसानबाट सैनिकका अवशेष बोकेको सी–१७ नामको कार्गो बिमान दक्षिण कोरियास्थित ओसान अमेरिकी हवाई अखडामा अवतरण गरेको थियो । बिमानस्थलमा अमेरिकी सैनिकहरु लामबद्ध भई बिमानको प्रतिक्षामा थिए । ओसान पु¥याइएका अवशेषलाई अमेरिकाको हवाइमा परीक्षण गरिनेछ ।

दक्षिण कोरियास्थित संयुक्त राष्ट्रसंघीय कमान्ड (युएनसी) का अनुसार उक्त बिमानमा ५५ वटा अवशेष रहेका छन् । “व्यापक समन्वय पश्चात यो कार्य सफल भएको हो,” एक वक्तव्य जारी गर्दै युएनसीका कमान्डर जनरल भिन्सेन्ट ब्रूक्सले बताए ।

युद्धका क्रममा कोरियाली प्रायःद्वीपमा ३५,००० भन्दा बढी अमेरिकीहरु मारिएका थिए जसमध्ये करिब ७,७०० अझै हराइरहेको मानिन्छ । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका अनुसार तीमध्ये उत्तर कोरियामा मात्र ५,३०० जना हराएका थिए ।

सन् १९९० र २००५ को अवधिमा, उत्तर कोरियाबाट २२९ वटा अवशेष फिर्ता गरिएका थिए, तर उत्तर कोरियाको आणविक हतियार कार्यक्रम पश्चात अवशेष खोजीका सम्पूर्ण कार्यक्रम बिथोलिएका थिए ।

अमेरिकी अधिकारीहरुका अनुसार, उत्तर कोरियामा हस्तान्तरणका लागि करिब २०० थान अवशेष तयारी अवस्थामा छन् ।