बाग्मती

समाज परिवर्तन र सहकारी अभियानमा महत्वपूर्ण योगदान

रत्ननगर, चितवन । चितवन रत्ननगरस्थित सौराहामा आज ३५ जना एकल महिलालाई नगदसहित सम्मान गरिएको छ । समाज परिवर्तन र सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएवापत सौराहा बचत तथा ऋण सहकारी संस्था रत्ननगरले उनीहरुलाई जनही रु पाँच सयसहित कदरपत्रद्वारा सम्मान गरेको हो ।

संस्थाको १५औं वार्षिकोत्सवका अवसरमा सहकारीमा आवद्ध भएर नियमित बचत गर्ने एकल महिलालाई सम्मान गरिएको सो संस्थाका अध्यक्ष गणेश खतिवडाले बताए।

सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बचत तथा सहकारीका कारण गाउँमा नै गर्जो टर्ने अवस्था आएकोमा खुशी व्यक्त गर्दै एकल महिला, वृद्धवृद्धा, बालबालिकाको क्षेत्रमा स्थानीय तहबाट पनि आवश्यक सहयोग रहने बताए ।

संस्थाको अध्यक्ष खतिवडाले यहाँका एकल महिलालाई सौराहा बचतले एकल महसुस गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिकोत्सवकै अवसरमा आज सौराहा बचतसहित लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबा र लियो क्लब अफ सौराहाको संयुक्त आयोजना रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना समेत गरिएको थियो ।