पु.समाचार

काठमाण्डौ महानगरबासीसंग गरेको बाचा पुरा गर्न नसक्दा मेयर शाक्य देखिए अशफल !

सञ्जिता आचार्य काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सय दिनमा गर्ने भनेका काम एक वर्ष बितिसक्दा पनि अलपत्र पारेका छन् । उनले सय दिनका लागि भनेका काममध्ये १३ महिनामा १० प्रतिशत मात्रै पूरा भएका छन् । चुनावी अभियानका क्रममा एक सय दिनमा गर्ने भनी घोषणा गरेका एक सय एक काममध्ये केवल १० वटा मात्र १३ महिनामा पूरा भएका हुन् ।

अन्य काम भने कार्यान्वयनको अन्तिम चरणमा रहेका मेयर शाक्य बताउँछन् । काठमाडौं महानगरले ८० वटा काम सकिएको बताए पनि ती काम कार्यान्वयनको चरणमै रहेको फेला परेको हो । घोषित कार्यक्रममध्ये ७५/८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई १२ हजार महानगर विशेष भत्ता, स्वास्थ्य परीक्षण, ग्रिन एन्ड क्लिन काठमाडौंको अभियानको शुभारम्भ, महानगरको सहरी विकास योजनाको प्रारम्भ गर्ने लक्ष्यअनुरूप कार्य थालनी भएका छन्।

महानगरले युवावर्गलाई व्यावसायिक तालिम, हस्तकला, नागरिक सुरक्षाका लागि प्रहरीसँगको सहकार्यमा सिसिटिभी जडान कार्य महाराजगञ्जमा सुचारु गरेको छ । धार्मिक स्थलमा फ्री वाइफाई राख्ने योजनाअनुरूप ६ ठाउँमा सेवा सुचारु गरेको, थाँती रहेका मुद्दा टुंग्याउने, वर्षे पानी संकलन अभियानको शुभारम्भ गर्ने योजनाअनुरूप १५ नम्बर वडाबाट सो योजनाको शुभारम्भ गरेको र काष्ठमण्डप पुनर्निर्माण स्थानीय समुदायलाई दिएको लगायत १० वटा प्रतिबद्धता पूरा भएका छन्।

प्रमुख शाक्यले गरेका चुनावी प्रतिबद्धतामध्ये ८० वटा कामको शुभारम्भ भइसकेको महानगरपालिकाले दाबी गर्दै आए पनि व्यावहारिक रूपमा भने काम अघि नै बढ्न नसकेको पाइएको छ । केही काम अगाडि बढाउने भने पनि खासै प्रगति भएको छैन । प्रतिबद्धताअनुरूप अहिलेसम्म कामनपाले काम शुभारम्भ नगरे पनि सम्पन्न भइसकेको भन्दै उपलब्धिका रूपमा विज्ञप्ति जारी गर्ने गरेकोसमेत पाइएको छ ।

यी काम नभए पनि महानगरले पूरा भएको सूचीमा राखेको छ । साइकल सिट योजना प्रारम्भ गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढाउनै सकिएको छैन । कहिले सुरु हुने पनि यकिन छैन । तर, ती काम पूरा भएको झुटो दाबी महानगरले गरेको छ । मेयर शाक्यले काठमाडौंको अस्तव्यस्ततालाई सय दिनमा व्यवस्थित गर्ने मात्र नभई थप काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए। यो प्रतिबद्धताले मेयर–उपमेयरलगायत सिंगो महानगरपालिकालाई गिज्याइरहेको छ ।

केही दिनअघिसम्म रहेको फोहोरको डुंगुरले क्लिन काठमाडौंका नारालाई पनि हावा खुवाएको छ। सोह्रखुट्टेको पुनःस्थापना गर्ने, बाटो विस्तारका पीडितसँग वार्ता गरी जनभावनाअनुसार समस्या समाधान गर्ने, ‘सही समय सही ठाउँ, नो ट्राफिक जाम’ को अभियान सुरु गर्ने, विशेष स्थानमा सवारीमुक्त क्षेत्र घोषणा गर्ने, जञ्जालमुक्त सडक सञ्जाल कार्ययोजना प्रारम्भ गर्ने लगायतका कामहरू भने अहिले कार्यान्वयन तहमा रहेका महानगरपालिकाले जानकारी दिएको छ।

तर, कुनै पनि काम सोचेअनुसार अघि बढ्न सकेको पाइँदैन। यद्यपि, काठमाडौं महानगरपालिकाले भने कतिपय काम चाहँदाचाहँदै पनि पूरा हुन नसकेको स्वीकार गरेको छ। महानगरपालिकाका निर्देशक नवराज ढकालले कर्मचारी व्यवस्थापन र महानगरकै केही कमजोरीका कारण पूरा हुन नसकेको बताए । उनले अगाडि भने, ‘जनचाहनाअनुरूप काम गर्न नसक्नुमा कामपाकै कमजोरी हो, कर्मचारी व्यवस्थापनदेखि सम्पूर्ण कुराको व्यवस्थापन नभएको हो।

यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने तयारीमा लागेका छौँ ।’ साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ गर्ने, महानगरको योजना आयोग गठन गरी कामको सुरुआत गर्ने, आफ्नै पूर्वाधार कमिटी गठन गर्ने, महानगरको लगानीमा कम्पनी स्थापना गर्ने, सांगठानिक संरचना निर्माण, जनशक्ति निर्माण र व्यवस्थापन गर्नेजस्ता विषयमा समेत ठोस काम हुन सकेको छैन । प्रतिबद्धतामा चुकेसँगै काम गरेको देखाउन महानगरले झुुटा विवरण देखाएउँदै आएको हो ।

यस्तै, कामपालाई भ्रष्टाचारमुक्त बनाउने, समय सापेक्ष रोजगारीको सिर्जना गर्ने, नागरिक सुरक्षाका लागि प्रहरीसँग समन्वय गरी महानगरका पुरातात्विक पर्यटकीय सम्पदालाई विशेष योजना बनाई कार्य शुभारम्भ गर्ने, बाटो विस्तार, मिनी असन बजार ठाउँठाउँमा विस्तार, घरघरमा अचम्मको चुलो, वैज्ञानिक विधिमैत्री सेप्टीट्यांकी, भोकरहित जनता, शोकरहित महानगरको नारा पनि हावामा सीमित हुन पुगेको छ ।

भूकम्पले क्षति पु¥याएका संरचनाहरूको पुनर्निर्माण, नो ट्राफिक जाम, सही समयमा सही ठाम ‘स्मार्ट सिटी, जञ्जालमुक्त सडक सञ्जाल, धुलोधुँवारहित हरियाली महानगर, घरघरमा आग्यार्निक कौसी तरकारी खेती, चोरी डकैतीरहित सुरक्षित काठमाडौंको योजनामा पनि खासै प्रगति भएको छैन ।

ट्याक्स सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था, सडकमा थुपारिएका सामग्री हटाउने, मेलम्ची खानेपानीका कारण भत्किएको सडकको खाल्डाखुल्डी पुर्ने, चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको नेपाल सरकारसँग समन्वय गरी बाल मनोरञ्जन पार्क, चलचित्रकर्मी, नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा बृहत् प्रदर्शनी केन्द्र निर्माण, राष्ट्रिय सभागृहमा नियमित सार्वजनिक सुनुवाइ, राजस्व बोर्ड बनाई अनुसन्धान, धरहराको मास्टर प्लानजस्ता मेयरका सपनासमेत अघि बढेका छैनन् ।

यस्तै, नदी किनारका मठमन्दिरको संरक्षणसहित संग्रहालय निर्माणको थालनी गर्ने, पुरातात्विक मापदण्डअनुसार रानीपोखरी निर्माण गर्ने, दरबार हाइस्कुल पुनःस्थापनाका लागि सार्वजनिक बहस गरी कार्यसञ्चालन गर्ने, भद्रकाली मन्दिर परिसरको विस्तृत परियोजनाको सर्वेक्षण गर्ने, निश्चित समय तालिकाअनुसार यातायात सञ्चालन गर्ने, सुविधासहितको बस सेवा, महानगरबाट सञ्चालित चमती, मनोहरा लगायतका अवरुद्ध ल्यान्डपुलिङको कार्यलाई यथाशीघ्र सम्पन्न गर्ने, छाडा गाईवस्तु र फोहोरमैला तत्काल व्यवस्थापन गर्ने, २४सै घण्टा जीवन्त सहर बनाउने र २३ तले भ्यु टावर निर्माण गर्ने योजना अघि सारिएका थिए ।

यस्तै, हिंसापीडित महिलालाई तत्काल उद्धार, तरकारी, फलफूल, खाद्यान्न विषादीमुक्त बनाउन अनुसन्धान, विपन्न असहायलाई प्रथमिकतामा राख्दै अघि बढ्नेजस्ता एक सय एक कामका प्रतिबद्धता मेयरले गरेका थिए । तर, तीमध्ये प्रमुख प्राथमिकतामा रहेकै कामसमेत महानगरले अघि बढाउन सकेको छैन । महानगरले मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छयाउने समय पनि यहीँ परेकाले कतिपय विषय सो कारणले पनि पूरा हुन नसकेको भन्दै केही साताभित्रै सबै काम पूरा हुने दाबीसमेत गरेको छ । सौर्य डेलिबाट