अन्तर्राष्ट्रिय

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका छन् ।

नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उनका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

मतदानका क्रममा पाकिस्तानको क्वेटा प्रान्तमा भएको सो बम हमलामा परी ३१ जनाको ज्यान गएको थियो । यसमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको सो विज्ञप्तिमा बम आक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

सो विज्ञप्तिमा महासचिव गुटरेसले आतङ्कवादका विरुद्धमा पाकिस्तान सरकारले जारी राखेको लडाइँमा आफ्नो सहयोग र ऐक्यबद्धता रहेको पनि बताएका छन् । पाकिस्तानमा संसद र चारवटा प्रान्तीय सभाका लागि बुधबार मतदान भएको थियो ।

यहाँ निर्वाचनजन्य हिंसामा परी अरु कैयौँको ज्यान गएको छ । त्यस्तै निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई जेल सजाय सुनाइएकाले पनि हिंसा बढ्ने अनुमान गरिएको थियो ।

आतङ्ककारी गतिविधिबाट सताइएको पाकिस्तानमा चुनाव–केन्द्रित हिंसात्मक घटना भएका छन् । हिंसात्मक आक्रमणमा परी १८० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।