पु.समाचार

सर्वोच्चमाथि औला उठाउदैँ योगेश भट्टराईको प्रश्नः कतै न्यायाधीश बस्ने कुर्सीको पछाडि विदेशी संस्थाको लोगो त छैन ?

काठमाडौं । नेकपाका सांसद योगेश भट्टराईले अदालतका सबै बेञ्च र बहस लाइभ गर्न सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपक राज जोशीलाई आग्रह गरेका छन् ।

जोशीको नियुक्तिका लागि संसदको सुनुवाई समितिमा बोल्दै भट्टराइले यस्तो बताएका हुन् । अदालती कारवाही चुस्त दुरुस्त र पारदर्शी बनाउन तथा साथै लोकतान्त्रिक अभ्यासका लागि यो विधि अप्नाउन सुझाव दिएका हुन् ।

नेता भट्टराईले अदालतमा बिचौँलियाको बिगबिगी रहेको बताएका छन् । जोशी सुनुवाइमाथि बोल्दैँ उनले जनताको आस्थाको केन्द्र अदालतमा विचौलियाको प्रवेशमा रोक लगाउनु पर्ने धारण व्यक्त गरेका छन् ।

सांसद भट्टराईले सर्वोच्च अदालतमा देखिने गरी १२ करोड वैदेशिक लगानी भएको दाबी गर्दै विगत १० वर्षमा कति पैसा आयो सार्वजनिक गर्न आग्रह समेत गरे ।

उनले भने, ‘विगत १० वर्षमा कति वैदेशिक लगानी आयो ? त्यो के–के मा खर्च भयो ? त्यसको प्रतिवेदन आओस् भन्न चाहान्छु । कतै न्यायाधीश बस्ने कुर्सीको पछाडि विदेशी संस्थाको लोगो त छैन ? यस्तो हुनु राम्रो विषय होइन ।’

प्रस्तावित प्रधानन्यायाधीश जोशीले फैसला गरेको हाडिगाउँ र बालुवाटारको सरकारी जग्गाको मुद्दाको विवादबारे पनि नेता भट्टराईले प्रश्न गरेका थिए ।