कृषि

बंगुरपालनबाट मनग्य आम्दानी

कञ्चनपुर । कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आएकी छन् । चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आएकी छन् । उनले वार्षिक रु छ लाख नाफा गर्छीन् ।

उनले रु १० लाख बराबरको बंगुरको मासु तथा रु दुई लाख १० हजार बराबरको बंगुरको पाठापाठी बिक्री गरेकी हुन् । चौधरीको फार्ममा चार जाताका माउ बंगुर पालिएका छन् । “अझै ३० वटा बंगुर थप्ने योजना छ,” उनले भने।

बंगुरपालनबाट गरेको रु तीन लाख ५० हजार खर्चेर उनले ५० वटा बंगुर अटाउने आधुनिक फार्म निर्माण गरे । चौधरीले रु तीन लाखमा फार्मका लागि जग्गा खरिद गरेकी हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयबाट चार वर्षअघि सातदिने तालीम लिएर उनले आधुनिक तरिकाले बंगुरपालन गर्न थालेकी हुन् । “बालबालिकाको पढाइ तथा घर खर्च बंगुरपालनको आम्दानीले धानिएको छ,” उनले भने्। बंगुरपालनपछि आर्थिक अभाव नभएको उनी बताउँिछन् ।

बंगुरपालनको आम्दानी चौधरीले पक्की घर निर्माणका लागि बैंकमा बचत गर्न थालेकी छन् । रु एक लाख ऋण काढेर उनले चार वर्षअघि बंगुरपालन व्यवसाय थालेकी हुन् । बंगुरपालनका लागि लिएको ऋण उनले दुई वर्षमै चुक्ता गरे । “हिम्मत गरेर आफ्नै खुट्टामा उभिए अरुको भर पर्नु पर्दैन,” उनले भने ।