पर्यटन/संस्कृति

पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले चम्पादेवीस्थित पुष्पलाल पार्क तथा त्यस वरपरका क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, पैदल मार्गलगायत पर्यटनको पर्याप्त सम्भावना रहेका कारण त्यहाँ पर्यटनको लागि पूर्वाधार विकास गर्न लागिएको छ ।

पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका परिचित गराउने लक्ष्य लिइएको छ भने चालू आवमा कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजनासमेत सञ्चालन गरिने छ । उक्त योजनामा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

पर्यटन प्रवद्र्धनसँग सम्बन्धित उद्योग, होटल तथा अन्य व्यवसायको स्थापना र सञ्चालनमा कर तथा अन्य शुल्कमा छुटको व्यवस्था गरिने छ । यसअघि नै स्थानीय पर्यटनको विकास तथा पुनःनिर्माणका लागि सम्बन्धित क्षेत्रको विज्ञ र समाजको प्रतिष्ठित व्यक्तिको समेत सहभागितामा कीर्तिपुर पर्यटन विकास समिति गठन गरिएको छ ।

नगरको पर्यटकीय क्षेत्र, कृषि, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत साधनको नियमन र व्यवस्थापन, सार्वजनिक जग्गाको अवस्था, युवा तथा खेलकुदको परिस्थितिलगायत विषयलाई व्यवस्थित बनाउनका लागि अध्ययन भइरहेको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले जानकारी दिए ।