कृषि

दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

पथरी, मोरङ । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् ।

सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो दुग्ध उद्योग सञ्चालनमा ल्याइएको हो ।

सो क्षेत्रका किसानले दूधको मूल्य राम्रो पाउने भएका छन् । साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आर्चायका अनुसार पूर्वी मोरङमै दूध उत्पादन बढी हुने गोठगाउँका किसानको दुग्ध उत्पादनले बजार पाउने भएको छ । किसानबाट संकलन हुने दूधबाट आफ्नै ठाउँमा दूध प्रशोसन गरी दूधजन्य सामग्री उत्पादन हुने भएपछि संस्थाले समेत सहयोग पु¥याएको आचार्यको भनाइ छ ।

गत जेठ महिनादेखि सञ्चालनमा आएको उद्योगबाट दैनिक दूध प्रशोधन गरी प्याकेजिङ गर्ने, दही, मोही, नौनी उत्पादन गर्ने काम गर्ने गरेको उद्योगका सञ्चालक सीताराम भट्टराईले जानकारी दिए ।

साउन महिनामा दैनिक एक हजार २०० लिटर दूध संकलन तथा ४०० लिटर दूध प्याकेजिङ गरी बजारमा बिक्री गर्ने गरिएको, त्यसैगरी दही मोही र नौनीसमेत बिक्री गर्न थालिसकेको छ । उद्योगले किसानसँग राम्रो मूल्य दिएर गाई र भैँसीको दूध खरीद गर्दै आएको छ ।