आर्थिक

अझै पुगेनन् स्थानीय तहमा बैँक

जाजरकोट । यहाँका अधिकांश स्थानीय तहमा अझै बैँक स्थापना हुन सकेका छैनन् ।  जिल्लाका सात स्थानीय तहमध्ये तीन स्थानीय तहमा बैँक स्थापना भए पनि बाँकी चार ठाउँमा अझै स्थापना हुन नसकेका हुन् । बैँक स्थापना नहुँदा ग्रामीण क्षेत्रबाट सामान्य कामका लागि पनि जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता भएको बारेकोट गाउँपालिका वडा नं ७ का प्रेम शाहीले बताए ।

वृद्धभत्तादेखि उपभोक्ता समितिसम्म सदरमुकाम गई लामो समयसम्म बस्दा खर्च वढी हुने गरेको छ । रु ३० हजारको योजनादेखि लाखौँ योजनामा काम गर्ने उपभोक्ता सदरमुकाममा आउँदा समस्या भएको छ ।

ठुलो योजना भएका त ठीकै भए पनि साना योजना भएका उपभोक्ताको रकम बैँक जाँदा र आउँदा आधा खर्च हुने गरेको जुनिचाँदे गाउँपालिका वडा नं ८ का नरबहादुर बुढाले बताए ।

जुनिचाँदे, बारेकोट, शिवालय र कुशे गाउँपालिकामा बैँक स्थापना भएको छैन । यी अधिकांश ठाउँका रहेका स्थानीय सरकारका कार्यालयसमेत सदरमुकाममा छन् । मोटो रकम बाटामा बोकेर ल्याउँदा सुरक्षा चुनौती भएको कर्मचारी बताउँछन् ।

द्वन्द्वकालमा विस्थापित बैँकसमेत स्थापित हुन नसक्दा थप समस्या परेको छ । नलगाड नगरपालिकाको दल्लीबाट विस्थापित नेपाल बैँकको शाखा अहिलेसम्म पूर्ण स्थापना हुन सकेको छैन ।