समाचार

प्रधानसेनापतिद्वारा पूर्व प्रधानसेनापति रं रथीसँग अन्तरक्रिया

काठमाडौं । बुधबार नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु एवं पूर्व रथीसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । कार्यक्रममा राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरुको साथै नेपाली सेनाका विविध गतिविधिहरुको बारेमा जानकारी गराईएको थियो । यस प्रकारको भेटघाटको कार्यक्रम नेपाली सेनामा नियमित रुपमा आयोजना गर्ने गरिएको छ ।

सो कार्यक्रमलाई सम्बोेधन गर्दै प्रधानसेनापति महारथी श्री क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रमको दौरान वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाको जिम्मेवारी, अपरेशनल र सैनिक कल्याणकारी योजना तथा गतिविधिका बारेमा सम्बन्धित निर्देशनालयहरुबाट जानकारी गराईएको थियो ।

सोही कार्यक्रममा सन् १९५८ देखि सन् १९८८ सम्म संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा खट्टिनु भएका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरुलाई प्रधानसेनापति क्षत्रीले ‘The International Peace Prize Medal 1988Ú ’ प्रदान गर्नु भएको थियो । सन् १९८८ मा संयुक्त राष्ट्र संघले नोवेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा नर्वेजियन सरकारले शान्ति स्थापना कार्यमा खट्टिएका आफ्ना सैनिकहरुलाई यो मेडल प्रदान गर्न सुरुवात गरेपश्चात संयुक्त राष्ट्र संघको अनुमतिमा नेपाल सरकारको स्वीकृति भए बमोजिम उक्त अवधीभर शान्ति स्थापना कार्यमा खट्टिएका रथीवृन्द तथा अधिकृतहरुलाई योे मेडल प्रदान गरिएको हो ।
उक्त अवसरमा पूर्व प्रधानसेनापति र रथीवृन्दहरुले नेपाली सेना सम्बन्धि विविध सुझाव व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्नु हुँदै बलाधिकृत रथी पूर्णचन्द्र थापाले प्रधानसेनापति लगायत पूर्व प्रधानसेनापतिहरु एवं रथीवृन्दको उपस्थिति र उनीहरुले प्रदान गर्नु भएको महत्वपूर्ण राय सुझावहरुको लागि धन्यवाद ज्ञापन गरेक थिए ।