राजनीति

नेविसंघ अध्यक्ष र महामन्त्रीबीच चर्काचर्की, यसरी चल्यो जुहारी नै !

काठमाडौं । नेपाली कांंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्लेबीच चर्काचर्की भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा महर र काफ्ले एकअर्काको आरोप पत्यारोपमा उत्रेका हुन् ।

कार्यक्रममा आफ्नो कार्यकाल सफल भएको दाबी गर्दैगर्दा संगठनकै महामन्त्री काफ्लले उनको चर्को आलोचना गरेका थिए । काफ्लेले महर नेतृत्वले संगठनलाई चलायमान बनाउन नसकेको आरोप लगाएका छन् ।

महरले तोकिएकै मितिमा अर्थात साउन २३ गते महाधिवसन हुने र त्यसो हुन नसके ३ महिनापछि गर्ने बताए ।

‘नेविसंघको आफ्नै विधि र विधान छ, हामी सबैले विधि-विधानको कार्यान्वयन गर्नुपर्छ, मेरो पालामा भएका संगठनहरुलाई जिवित राखेर, खाली भएको स्थानमामात्रै मैले पत्र काटेर समिति निर्माण गर्न भनेको थिएँ ।, महरले भने, नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् ? भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै हो, केन्द्रीय समितिको बैठक नबसि मनलाग्दी तरिकाले कुरा गरेर हुँदैन, पार्टीको गुटबन्दीमा परेर नेविसंघ भत्केको हो ।’

यता महामन्त्री काफ्लेले भने महर नेतृत्वले संगठनलाई उचित व्यवस्थापन र निकास दिन नसकेको आरोप लगाएका छन् । उनले भने, ‘नेतृत्व अल्पमतमा छ, संगठनको विधि/विधान अनुसार चलेको छैन्, संघको १२ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर हामीले पहिले नै मिति घोषणा गरेका छौं, पार्टीको निर्देशनलाई मध्येनजर गर्दै हामी अघि बढ्ने छौं ।’