राजनीति

ओलीजी, कांग्रेससँग नटकराउनुस्, राणा टकराए गए, राजा पनि गए, अब कम्युनिस्ट पनि जान्छन्ः नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको संगठन कमजोर हुदाँ आफू लगायत नेताले पराजय भोग्नुपरेको बताएका छन् । कार्यकर्ता भेटघाटमा प्रदेश नं. ७ को अस्थायी राजधानी धनगढीमा बोल्दैँ उनले एमाले र माओवादी मिलेर कांग्रेस हारेको भन्ने केन्द्रिय कार्यसमितिको निष्कर्ष गलत भएको बताएका हुन् ।

उनले सभापती शेर बहादुर देउवातर्फ संकेत गर्दै हार स्वीका नगरे पार्टी नचल्ने दाबी गरेका थिए । अब कांग्रेस एक ढिक्का हुनुको कुनै विकल्प नभएको नेता कोइरालाको भनाइ थियो ।

यसैबीच, नेता कोइराला वर्तमान सरकारविरुद्ध खनिएका छन् । उनले कांग्रेससँग टकराउन खोजे कम्युनिस्ट सरकार आफैं सखाप हुने बताए । सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गरेको उनको भनाइ थियो ।

नेपाली चेलीको अस्मितामाथि धावा बोलेका कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको भन्दै उनले भने, ‘सरकारका मन्त्रीहरुले यसरी नै राजीनामा दिँदै जान्छन् । ओलीजी म खबरदारी गर्न चाहन्छु, ट्याउट्याउ नबोल्नुस् । राम्ररी काम गर्नुस् । अगाडि बढ्नुस् ।’

उनले लोकतान्त्रिक व्यवहार देखाउन सकरारलाई आग्रह गरे । ‘लोकतान्त्रिक व्यवहार देखाउनु भनेको विरोधको स्वर सुन्नुपर्छ, समाधान गर्नुपर्छ । एक्लो विरोधी किन नहोस् । तर, त्यसरी गइरहेको छैन ।’

उनले कांग्रेससँग सिगौँरी नखेल्न चेतावनी दिदैँ भने, ‘ओलीजी, नेपाली कांग्रेससँग नटकराउनुस् । राणाहरु टकराए, गए । राजा पनि गए । अब कम्युनिस्टहरु कांग्रेससँग टकराउँछन् भने यिनीहरु जान्छन् ।’