पर्यटन/संस्कृति

आम्दानी छैन गुठीको सम्पत्तिको

ललितपुर । गुठीका नाममा भएको सम्पत्तिबाट गुठी संस्थानले खासै कुनै आम्दानी लिन सकेको छैन । पुस्तौँदेखि गुठीको सम्पत्ति प्रयोग गर्दै आएका व्यक्तिहरुले आयस्ता नबुझाउँदा आम्दानी लिन नसकिएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । पाटन दरबार क्षेत्रमा मात्रै झण्डै ४० वटा कवलहरु रहेको कार्यालयका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

जिल्लाको मङ्गलबजार, सुन्धारालगायतका स्थानमा गुठीका नामका कवलहरु रहेका छन् । एक दशक पहिलेसम्म ज्यादै न्यून भाडा बुझाउने उनीहरु अहिले कार्यालयलाई त्यही न्यून भाडासमेत बुझाएका छैनन् । उनी भन्छन्, “मङ्गलबजार र त्यस आसपासका क्षेत्रमा निजी घरका सटरमा भाडा बढिरहेको छ तर उनीहरु भने एक रुपैयाँ पनि नदिई सित्तैमा बस्दै आएका छन् ।”

सबैभन्दा अनौठो कुरा त के छ भने कतिपय कवलहरुमा पुस्तौँदेखि जुन व्यक्तिले पसल राख्दै आएको थियो उसले अहिले अर्कोलाई भाडामा दिइरहेको छ । अहिले पसल राख्ने व्यक्तिले आफूले जसले त्यो कवल दियो उसैलाई भाडा दिएको पौडेलले बताए ।

उनी भन्छन्, “कतिपयले कसको सम्पत्ति हो र कसलाई भाडा दिने भन्ने समेत थाहा छैन ।” ती कवलहरुमा गुठीले भाडा नपाए पनि बाबु–बाजेको पालादेखि पसल राख्दै आएकै भरमा बीचका मान्छेले भाडा बुझिरहेका छन् । बाबु–बाजेका पालामा तोकिएको भाडा दर बढ्न नसकेको पौडेल बताउँछन्। नजिकैका स्थानमा धेरै चर्को भाडा हुँदा यहाँका पसल–कवलको भाडा ६०–७० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म मात्रै भाडा तोकिएको छ । त्यही भाडासमेत व्यापारीले नबुझाएको पौडेल बताउँछन् ।

उनी भन्छन्, “ज्यादै न्यून भाडा तोकिएकामा पनि लामो समयदेखि तिरेका छैनन् ।” गुठीले मात्रै नभएर स्थानीय निकाय र प्रशासनले नै भाडा उठाउन लाग्नुपर्नेमा उनको जोड छ । भाडा उठाउनका लागि कार्यालयले प्रशासन, स्थानीय निकाय, टोल सुधार समितिहरु छलफल थालेको उनी बताउँछन् । टेण्डरमार्फत वा चलनचल्तीको भाडादर तिराउनका लागि पहल भइरहेको छ । उनी भन्छन्, “यहाँको आयस्ताबाट नै हामीले धेरै पर्व, पूजा र जात्रा चलाउन सक्छौँ ।”

ललितपुरका नगर क्षेत्रमा अरू निकायका स्वामित्वमा भएका भवन प्रयोग गर्नेहरुले चलनचल्तीको भाडा तिरेका छैनन् । पहिले कतिपय कवललाई हटाउन खोज्दासमेत मानेका थिएनन् । उनी भन्छन्, “पुस्तौँदेखि बस्दै आएको भन्ने भरमा नै उनीहरु छाड्दैनन् ।” यहाँ पसल सञ्चालनमा रहेका कतिपय कवलमा पहिले स्वामित्व विवाद थियो । अहिले त्यो विवाद नहुँदासमेत व्यवसायीले भाडा दिन आनाकानी गरिरहेका छन् । उनी भन्छन्, “सबै लागेर मात्रै समाधान निकाल्न सकिन्छ ।”

यहाँ पसल सञ्चालन गर्ने कतिपयमा गुठीको जग्गामा सित्तै बस्नु हुँदैन भन्ने सोचाइ पाइएको पौडेलले बताए। धार्मिक स्थान भएकाले भाडा नतिरी हुँदैन भन्ने सोचाइ भएकाले भाडा दिन इच्छा देखाएको उनी बताउँछन् । उनी भन्छन्, “हामीले ती व्यक्ति हुँदै सबै जनासँग भाडा लिनुपर्छ ।”

सार्वजनिक गुठीका नाममा भएका भवन, कवल, जग्गालगायतका सम्पत्तिको अभिलेखसमेत छैन । विभिन्न गुठीका नाममा छरिएर रहेका सम्पत्तिको एकीकृत विवरण नभएको उनले बताए । उनले भने, “कतिपय जग्गा रैतानी भइसकेको छ भने कतिपय अधिनस्त र कतिपय तैनाथी जग्गा छन् ।” कतिपय जग्गा दर्ताका क्रममा रहेको र दर्ता हुन बाँकी जग्गालाई पनि प्रक्रियामा ल्याएर दर्ता गरिने उनले बताए ।

गुठी संस्थानसँगै, ललितपुर महानगरपालिका र पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका नाममा रहेका कवलहरु पाटन दरबार क्षेत्रमा छन् । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको नाममा रहेको दरबार क्षेत्रभन्दा अगाडि रहेको लामपाटीलाई गत वर्षबाट बोलपत्र गरेर भाडामा लगाएको प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने, “स्वामित्वलगायतका विषयमा भएका विवाद समाधानपछि कवल भाडामा लगाइएको हो ।” दुई तला रहेको कवल जम्मा दुई लाख ८० हजार रुपैयाँमा भाडामा दिइएको छ ।

तीन फरक निकायका स्वामित्वमा रहेका सबै गरेर यस क्षेत्रमा झण्डै एक सय वटा कवल छन् । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र कतिपय स्थानीयवासीले दरबार क्षेत्र भित्रै रहेका कवल भने खाली गर्नुपर्ने बताउँदै आएको छ ।

पहिले यी कवल टाढाबाट आएकालाई विश्राम गर्नका लागि वा रात नै कटाउनका लागि प्रयोग हुन्थ्यो । कवलबाट भाडा उठाउनुका साटो पर्यटकलाई आकर्षण गरेर पर्यटन क्षेत्रबाट नै आम्दानी बढाउनुपर्ने विचार राख्ने पनि धेरै छन् ।