सुदूरपश्चिम

स्वास्थ्य इकाइ स्थापनाले गाउँमै उपचार

कञ्चनपुर । स्वास्थ्योपचारका लागि दश किलोमिटर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका बासिन्दाले मुक्ति पाएका छन् ।

स्थानीय सरकार आएपछि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएकाले स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका हुन् । स्वास्थ्यकर्मीसहित इकाइमा प्रर्याप्त औषधिको व्यवस्था गरिनाका साथै गाउँघर क्लिनिकलाई स्तरोन्नति गरी सामुदायिक स्वास्थ्य इकाइ बनाइएको हो ।

“सामान्य ज्वरो आउँदा वा चोटपटक लाग्दा पनि टाढाको झलारीमा रहेको स्वास्थ्य चौकीमा पुग्नु पर्दथ्यो।” स्थानीय बमबहादुर डगौराले भने, “गाउँमै स्वास्थ्यकर्मीसहित औषधिको व्यवस्था मिलाइएपछि निकै सहज भएको छ । औषधिका लागि शुल्क पनि लाग्दैन, लाइनमा बस्नु पर्दैन, जाँच गराएपछि औषधि पाइन्छ । जनप्रतिनिधि आएको अनुभूति भएको छ ।”

बस्तीलाई तीनैतीर नदीले घेरिएको र वर्षाका बेला गाउँमा बिरामी भए नदीमा आउने बाढीले नदी तर्न कठिन नसक्दा उपचारबाट पनि वञ्चित हुनुपर्ने अवस्था थियोे तर अहिले त्यस्तो अवस्था रहेन स्थानीय सुनिता नागरीले भने ।

इकाइमा उपचारका लागि नगरपालिकाको पिल्लरी र बेलडाँडीका बासिन्दा मात्रै नभएर छिमेकी कृष्णपुर नगरपालिकाको दोमिल्ला, पहरिया र सुन्दरी फाँटाका बासिन्दासमेत यहाँ उपचारका लागि पुग्ने गरेको इकाइमा कार्यरत अहेब डम्बरदत्त जोशीले बताए ।

उनका अनुसार दैनिक २० देखि ४५ जनासम्म बिरामी उपचारका लागि आउन थालेका छन् । इकाइ स्थापनाले अशक्त, अपांगता भएका व्यक्ति, असहाय, बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी लाभान्वित भएका छन् ।
इकाइमा जनशक्तिको अभाव पूर्ति गर्नका लागि चाडै सहयोगीसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको वडाअध्यक्ष बहादुर महराले बताए। इकाइ हाल समुदायले निर्माण गरेको कच्ची घरमा सञ्चालन हुँदै आएको छ । इकाइका लागि पक्की भवन निर्माणको कार्यसमेत शुरु गरिएको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल लैजान नदी नै बाधक थियो सुरत साउदले भने, “नदीमा पक्की पुल निर्माण हुनथालेको छ । सडकको पनि स्तरोन्नति गरिएकाले गाउँका बासिन्दाका वर्षैंदेखिका समस्या हट्न थालेका छन् ।” इकाइबाट सातसय बढी परिवार लाभान्वित भएका छन् ।