समाचार

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले विभिन्न मुलुकबाट नेपालमा आई गरीब र विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्ने फ्रान्सका ४२ वर्षीय क्रिस्टोपे गुइलियस र फ्रान्सकै ३८ वर्षीय मिशेल चुपाउलाई सोमबार गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनीहरु पर्यटक भिसामा नेपाल आएर कागेश्वरी मनहरा नगरपालिकास्थित एक घरमा बसेर बाल यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले १० देखि १४ वर्षका बालबालिकालाई फुटबल, चकलेट, खेलकुदका सामाग्री किनिदिनुका साथै पैसासमेत दिने र यौन दुराचार साथै अप्राकृतिक मैथुन गर्ने गरेको ब्यूरोले जनाएको छ ।

उनीहरुबाट हालसम्म आठ जना पीडित भएको उजुरी ब्यूरोमा आएको छ । पक्राउ दुवैलाई जबर्जस्ती करणी महलको बाल यौन दुराचार अपराधअन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।