शिक्षा

डा केसी अनशनमा बस्नु आवश्यक छैनः मन्त्री पोखरेल

लहान । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसी अनशनमा बस्नुको कुनै आवश्यकता नभएको बताएका छन् ।

सप्तरी सुरुङ्गा नगरपालिकाले आज आयोजना गरेको शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना घोषणासभालाई सम्बोधन गर्दै उनले चिकित्सा क्षेत्रसम्बन्धी केदारभक्त माथेमा प्रतिवेदनकै आधारमा विधेयक बनाई संसदमा पेश गरेकाले डा केसीले अनशन बस्नुको कुनै आवश्यकता नरहेको बताए ।

“माथेमा आयोगले दिएको प्रतिवेदनअनुसार बनाइएको चिकित्सा शिक्षा अध्यादेशमा थोरै परिमार्जन गरेर संसद्मा पेश गरेका छौँ,” मन्त्री पोखरेलले भने, “यसमा केही सुधार गर्नुपर्ने भए डा केसीको सुझावलाई पनि समेट्न सरकार तयार छ, वार्ता र संवादबाट समस्याको हल खोज्दा उपयुक्त हुन्छ ।”

उनले डा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा सामान्य बल मात्रै प्रयोग भए पनि गोली चल्यो भनेर नेपाली समाजलाई भ्रमित बनाउने काम गरिएको प्रतिअसन्तुष्टि व्यक्त गर्दै “हुँदै नभएको घटनालाई सञ्चार माध्यमले प्रचारबाजी गरिएको छ, त्यो बिल्कुलै गलत हो” भने ।

मन्त्री पोखरेलले केसीलाई लिन गएको प्रदेश सरकारको टोलीलाई अवरोध गरेपछि प्रहरीले सामान्य बल मात्रै प्रयोग गरेपनि मिडियाले गोली चलेको, दमन गरेको जस्ता उत्तेजित शब्दको प्रयोग गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

समाज र मुलुकलाई समृद्ध बनाउन प्रविधि, व्यावसायिक र रोजगारमूलक शिक्षाको आवश्यकता रहेको बताउँदै उनले स्कूलदेखि नै जीवनपयोगी शिक्षाको पाठ्यक्रम तयार भइरहेको समेत जानकारी दिए ।

मन्त्री पोखरेलले जनप्रतिनिधिले पनि कुनै व्यक्ति जागिर नपाएपछि शिक्षक बनाउने विगतको जस्तो प्रथालाई निरन्तरता दिए शिक्षा क्षेत्र झन् बर्बाद हुने टिप्पणी गरे ।

नगर प्रमुख मुक्तिनाथ चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, प्रदेशसभा सदस्य रुवी कर्ण, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले शिक्षाको महत्वका विविध पक्षमाथि प्रकाश पारे ।