प्रदेश 1

साविक ज्यामिरगढीको अन्तिम गुणस्तर अनुगमन

ज्यामिरगढी, झापा । हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । मंगलबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको गुणस्तर अनुगमन टोलीले ज्यामिरगढीको स्थलगत अनुगमन गरी खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति प्रदान गर्न सकिने निस्कर्ष निकालेको हो ।
हाल मेचीनगर नगरपालिका, वडा नं. १५ र ७ को केही भागमा रहेको ज्यामिरगढीमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको हो ।
२ हजार ३ सय ११ घरधुरी रहेको ज्यामिरगढीमा खुल्ला दिसामुक्त अभियान सञ्चालन हुनुअघि १ हजार २ सय ३५ घरधुरीमा सुरक्षित शौचालय रहेका थिए भने अभियानको क्रममा बाँकी १ हजार ७६ घरधुरीमा सुरक्षित चर्पी निर्माण भएका थिए ।
मंगलबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका उपाध्यक्ष एवम् अनुगमन समितिका संयोजक मीना पराजुलीको संयोजकत्वमा गएको अनुगमन टोलीले ज्यामिरगढीका ९ वटा बस्तीहरुमा अनुगमन गरेको थियो । “भिण्डीबस्ती, पानबस्ती लगायतका ठाउँहरुमा समेत उदाहरणीय चर्पी बनेको पाइयो”, अनुगमन समितिका सदस्य बाबुराम कार्कीले भने, “अन्य बस्तीहरुमा समेत सबै घरपरिवारको मापदण्ड अनुसारका चर्पीमा पहुँच रहेको पाइयो ।”
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्राविधिक रुद्रबहादुर न्यौपानेले चर्पीको गुणस्तर र प्रयोगको अवस्था पनि ज्यामिरगढीमा निकै उदाहरणीय भएको बताए ।
स्थलगत अनुगमनपछि भएको अनौपचारिक छलफलपछि आउँदो शुक्रबार साविक ज्यामिरगढीलाई खुल्ला दिसामुक्त घोषणा गर्ने सहमति भएको छ । यसको औपचारिक निर्णय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बुधबारको बैठकले गर्ने सहजीकरण गर्ने संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक महेन्द्र कार्कीले जानकारी दिए ।