समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूतबीचको भेटवार्तामा के भयो ?

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको शिष्टचार भेटमा नेपाल र कोरिया बीचको कूटनीतिक सम्बन्ध, व्यापार, लगानी र रोजगारीको क्षेत्रमा हुँदै आएको सहकार्यबारे चर्चा भएको थियो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताए ।

उनले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दक्षिण कोरियाले नेपाललाई उच्च प्रथामिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे ।

‘नेपालका सरकारी कर्मचारी तथा विद्यार्थीलाई कोरियाले छात्रवृत्तिमार्फत उच्च शिक्षाको अवसर दिएको छ,’ भेटमा उनले भने, ‘ईपीएस (ईम्लाएमेन्ट प्रमिट सिस्टम) मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको छ ।’

अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाको नेशनल एसेम्बली र नेपालको संसदबीच सुमधुर सम्बन्ध रहेको बताउँदै दुई देशको ‘संसदीय मैत्री समूह’ छिट्टै स्थापना गर्न नेपाल इच्छुक रहेको बताए । नेपाल र कोरियाबीच सन् २००२ मा संसदीय मैत्री समूह स्थापना भएको थियो । तर, अघिल्लो व्यवस्थापिका संसदले त्यसलाई निरन्तरता दिन सकेको थिएन ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोईका०मार्फत नेपालको सडक, जलविद्युत, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । ‘नेपालको विकासमा कोरियाले सहयोग गर्दै आएको छ,’ उनले भने, ‘नेपाल अहिले तीन तहको निर्वाचन सम्पन्न गरी समृद्धि र विकासतर्फ अगाडि बढ्ने प्रयासमा रहेकोले यसमा कोरिया जस्ता मित्रराष्ट्रको साथ हुने विश्वास लिएको छु ।’

नेपालले कोरियाली प्रायदीपको शान्ति, एकता र स्थिरता हेर्न चाहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले हालै कोरिया गणतन्त्र र डीपीआर कोरियाबीच सम्पन्न अन्तर कोरियन शिखर सम्मेलनले विश्वभर शान्तिको सन्देश दिन सफल भएको बताए ।

भेटमा कोरियाका राजदूत योङ सिकले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढ्दै गएको बताए । नेपालमा व्यापार तथा पूर्वाधारको क्षेत्रमा काम गरिरहेका कोरियाली नागरिकले भिषा थपका लागि केही झण्झट भोग्नुपरेको जानकारी दिए ।

त्यसैगरी उनले कोरियामा काम गरेर फर्किएका नेपालीका लागि नेपालमै रोजगारी दिलाउन हुन सक्ने सहयोगबारे दूतावासले अध्ययन गरिरहेको बताए । त्यसैगरी नेपाल सरकारसँग सहकार्य गरेर नेपालको विकासमा साझोदारी र सहयोग गर्न कोरिया तयार रहेको धारणा राखे ।