पर्यटन/संस्कृति

काष्ठमाण्डप पुनःनिर्माणका लागि त्रुटि हेरिँदै

काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणको नमूनामा त्रुटि भए–नभएकामा विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसअघि नै काष्ठमाण्डप पुनःनिर्माणको नक्सा तयार भइसकेपनि त्यसमा हुनसक्ने कमी कमजोरीबारे विज्ञहरुले अध्ययन गरिरहेका हुन् ।

अहिले पनि केही आन्तरिक काम भइरहेको छ, “अबको एक महिनामा पूर्णरुपमा काष्ठमाण्डप पुनःनिर्माणको काम जनताले देख्नेगरी नै शुरु हुन्छ” काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले भने।

उहाँका अनुसार यो ऐतिहासिक सम्पदा भएकाले सबैको विचार यसमा समावेश हुन आवश्यक हुन्छ त्यसैले केही समय लागेको हो ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा पनि भइसकेको छ । क्षमा पूजा कुनै कार्य शुरु गर्नुपूर्व गरिने र निर्माणको अवधिभरि कुनै किसिमको समस्या नआओस् भनेर गरिने पूजा हो ।

आगामी भदौको पहिलो साताबाट पुनःनिर्माण गर्ने गरी सम्पूर्ण तयारी भइरहेको छ । त्यसका लागि पुनःनिर्माणमा प्रयोग हुने इँटा र माटोको गुणस्तर परीक्षणसँगै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार यो सातौँ शताब्दीको भएको बताइएको थियो । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।