आर्थिक

राजश्व असुली ५६ प्रतिशतले वृद्धि

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो आवमा सोही अवधिमा रु तीन अर्ब ६६ करोड ९२ हजार बढी राजश्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार आव २०७४/७५ मा रु १० अर्ब १८ करोड २७ लाख दुई हजार राजश्व असुली भएको छ । आव २०७३/७४ मा रु छ अर्ब ५२ करोड २६ लाख १० हजार राजश्व असुली भएको थियो । अघिल्लो आवको तुलनामा आव २०७४/७५ मा मेची भन्सार कार्यालयले ५६ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

वर्तमान सरकारले मूल्याङ्कनमा गरेको सुधार, भन्सार प्रशासन आफैँले गरेको सुधारात्मक कार्य तथा पेट्रोलियम पदार्थको आयातमा भएको वृद्धिका कारण राजश्व असुलीमा वृद्धि भएको अर्याल बताउँछन् । आव २०७४/७५ मा वार्षिक लक्ष्यको तुलनामा ११०.८१ प्रतिशत राजश्व असुली गरेको छ । यस भन्सारबाट दैनिक औसत रु तीन करोड राजश्व असुली हुँदै आएको छ ।