आर्थिक

इङ्गुरिया नदीमा पुल निर्माण गर्न स्थानीयवासीको माग

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको इङ्गुरिया नदीमा दुई वटा पुल निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । उक्त नगरपालिकाको वडा नं ५ स्थित बक्सडडाँडामा आज आयोजित भेलाले नगरपालिकाको कर्मुहा तथा गैडहवा गाउँपालिकाको नयाँगाउँ जोड्ने र सैनामैना नगरपालिकाको बक्सडडाँडा तथा आमी जोड्ने दुई पुल निर्माणका लागि माग गरेको स्थानीयवासी डिलबहादुर खत्रीले जानकारी दिए ।

“कर्मुहाकावासीको जग्गा नयाँगाउँ टोलमा पनि भएको र नयाँगाउँ टोलका बालबालिकालाई वर्षायाममा विद्यालय आवतजावत गर्न कठिनाइ भएकाले हामीले पुल निर्माणका लागि पहल गरेका हौँ”, उनले भने ।

खत्रीले विगत १० वर्षदेखि नै पुल माग भएको र पुल नभएका कारण धेरैजनाले ज्यान गुमाउनुपरेको बताए । दुई वर्षअघिमात्रै इङ्गुरिया नदीले बगाएर चारजनाको मृत्यु भएको थियो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले स्थानीयवासीको माग आएपछि आवश्यक हो वा होइन त्यसको जाँच गरेर काम अघि बढाइने जानकारी दिए । उनले भने, “¬पुल निर्माणको आवश्यकता भयो भने योजना स्वीकृत गरेपछि काम अघि बढाइने छ ।