कृषि

अन्नबाली छाडेर तरकारीखेती

ललितपुर । कृषि पेशामा व्यावसायिक बन्दै जाँदा अन्नबाली लगाउन छाडेर तरकारीबालीमा आकर्षित हुने किसानको संख्या बढ्न थालेको छ ।

अन्नबालीमा भन्दा तरकारी बालीमा समय कम लाग्ने र उत्पादन धेरै पाउने हुँदा किसान तरकारी बालीतर्फ आकर्षित भएका हुन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रियबाली विज्ञान महाशाखाका प्राविधिक अतित पराजुलीका अनुसार व्यावसायिक किसानले छोटो समयमा मनग्य आम्दानी लिन सक्ने बताउँछन् ।

“नेपालीको मुख्यबाली भएकाले धानबाली छाडेका छैनन्” उनले भने, “किसान गहुँ, तोरी, मकैलगायतका अन्नबाली लगाउनुको साटो तरकारीतर्फ आकर्षित भएका छन् ।”

काठमाडौँ उपत्यका र आसपासका जिल्लामा पहिले अन्नबाली हुने ठाउँमा अहिले तरकारीबाली लगाउन थालिएको छ । उनले भने, “खेतमा आफूलाई खान पुग्ने गरी धान लगाउने र अर्को मौसममा तरकारी लगाउने गर्छन, बारीमा भने बाह्ैमास तरकारीखेती गर्ने क्रम बढेको छ ।” यातायातको सुविधा भएका र बजार नजिकैका अधिकांश ठाउँमा अहिले तरकारीखेती फैलिएको नार्कका विभिन्न अध्ययनले देखाएको छ ।

बाली तयार हुन लाग्ने समयले किसानलाई धेरै फरक पार्ने पराजुली बताउँछन् । उनी भन्छन्, “तरकारी लगाउँदा डेढ दुई महिनादेखि उत्पादन लिनसक्ने भए पनि अन्नबाली पाँच÷पाँच महिनासम्म कुर्न व्यावसायिक किसान चाहँदैनन् ।” आफूलाई चाहिनेभन्दा बढी अन्न बेच्दा कम आम्दानी भए पनि किसानले तरकारीबाट पर्याप्त आम्दानी गर्छन् ।

मुलुकका कतिपय ठाउँमा वर्षमा तीनबालीसम्म अन्न उत्पादन हुन्छ । दुई पटक धान र एक पटक अरु अन्न लगाउने गरेका थिए । अहिले भने एक पटक धान रोप्ने र बाँकी समय तरकारी फलाउने गर्छन् ।