राजनीति

नेता भण्डारीले ओली र प्रचण्डविरुद्ध खनिदैँ भनेः किन दुला दुलामा मार्सी भात खोज्दै हिड्नु पर्यो ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारी नेपाल कम्युनिष्टद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध खनिएका छन् । नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत ओली र प्रचण्डको अभिव्यक्ती र सरकारको कार्यशैलीप्रति आक्रोश पोखेका हुन् ।

उनले प्रचण्डले विगतमा अनसनरत डा. गोविन्द केसीका मागमा ऐक्यवद्र्धता जनाउदैँ हस्ताक्षर गरेको र प्रधानमन्त्री ओली पनि हिजोका दिनमा केसीको मागमा समर्थन गरेको बताए । २५ दिन देखि अनसनरत डा. केसीका माग नेपाली जनताको पक्षमा रहेको, उनका मागमा कुनै राजनीतिक स्वार्थ नमिसिएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीलाई गोविन्द केसीका मागमा संयमित र लचिलो बन्न नेता भण्डारीको आग्रह छ । उनले प्रधानमन्त्री ओलीलाई जनताले काम गर्ने जिम्मा सहित सिंहदरवार सुम्पेको स्मरण गराउदैँ दम्भ प्रदर्शन नगर्न समेत फेसबुकमार्फत भनेका छन् । जनताको सेवा गर्न छोडेर किन दुलादुलामा मार्सी भात खोज्दैँ जानुपर्यो भन्दै नेता भण्डारी ओली र प्रचण्ड विरुद्ध खनिएका छन् ।

नेता भण्डारीले कम्युनिष्टले काम नगरी गाली गलौज मात्रै गर्छन भन्ने छवि नबनाउन भनेका छन् । कांग्रेसका युवाहरु अघि बढिसकेका भन्दै सच्चिन र सचेत रहन उनले सरकारलाई आग्रह गरेका छन् ।