बाग्मती

कृषि विश्वविद्यालयद्वारा वार्ता समिति गठन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि उत्पन्न विवाद समाधान गर्न विश्वविद्यालयले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।

कार्यकारी परिषद्को बैठकले निजी क्याम्पसलाई सम्बन्धन दिएसँगै विद्यार्थी र प्रध्यापक आन्दोलित भएका छन् । आन्दोलनलाई हल गर्न भन्दै विश्वविद्यालयका उपकुलपति प्रा डा. ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा. सूर्यकान्त घिमिरेको संयोजकत्वमा विश्वविद्यालयकै चार उच्च पदाधिकारी रहेको समिति गठन गरेका हुन् ।

समितिका सदस्यमा अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा. नवराज देवकोटा, पोष्टग्य्राजुएट कार्यक्रम संयोजक प्रा डा. भूमिनन्द देवकोटा, कृषि सङ्काय (शिक्षण) सहायक डीन प्रा डा. कल्याणी मिश्र र विश्वविद्यालयका योजना निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठ रहेका छन् ।

गत असार २० गते निजी सम्बन्धनको निर्णय भएपछि असार २६ गतेदेखि विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलन भइरहेको छ । विश्वविद्यालयले आन्दोलनरत विद्यार्थी र प्रध्यापकसँग विस्तृत छलफल एवं संवाद गरी आन्दोलरत पक्षको मागलाई ध्यानमा राखी विश्वविद्यालयको निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न गराउन र शैक्षिक तथा प्राज्ञिक वातावरणलाई सुदृढ गरी दीर्घकालीन निकासका लागि आवश्यक राय सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।

समितिले आन्दोलनरत सबैसँग छलफल तथा वार्ता गरी स्थायी समाधानका लागि उपयुक्त रायसुझावसहितको प्रतिवेदन पेश गर्ने उपकुलपति प्रा डा. ढकालले बताए ।