बाग्मती

मुद्दाको संख्या र फैसाल बढेपनि चाप घटेन

मलेखु, धादिङ । जिल्ला अदालतमा विगतको तुलनामा मुद्दाको संख्या र फैसला संख्या बढे पनि चाप घट्न सकेको छैन । मुद्दा बढेसँगै फैसला गर्ने दर बढेको भएपनि चापलाई नियन्त्रण गर्न नसकीएको जिल्ला अदालतले जनाएको छ ।

दुई वर्ष नाघेका कुनै पनि मुद्दा फैसला हुन बाँकी नरहेको जिल्ला न्यायाधीश उमेश कोइरालाले बताए । उनका अनुसार आव २०७४/७५ मा एक हजार ७० थान मुद्दा रहेकोमा ७८९ थान मुद्दा फैसला भयो भने ०७३/७४ मा ८६० थान मुद्दामध्ये ४२७ थान मुद्दा फैसला भएको छ ।

विसं ०७२/७३ मा ८८७ थान मुद्दामध्ये ६०३ थान र ०७१/७२ मा ६५८ थानमध्ये ४०० मुद्दाको फैसला भएको हो । मुद्दाको संख्या बढ्दै गएकाले व्यवस्थापनमा चाप परेको हो ।

आव ०७४/७५ मा ६२९ मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १२५ प्रतिशत बढी अर्थात् ७८९ थान मुद्दा फैसला गर्न सफल भएको कोइरालाले राससलाई जानकारी दिए । अदालतमा भएका मुद्दामध्ये ६० प्रतिशत फैसला गर्ने लक्ष्य भए पनि ७४ प्रतिशत मुद्दा फैसला भई लक्ष्यको तुलनामा बढी मुद्दा फैसला भएको हो ।

यस आवमा मुद्दा परेकै दिन बालविवाहसम्बन्धी मुद्दाको फैसला भएको थियो । गत वर्षको तुलनामा जिल्ला अदालतमा लगत रहेका मुद्दामध्ये ०७३/७४ मा ४९ दशमलव ६५ प्रतिशत फैसला भएकोमा यस वर्ष अदालतको मुद्दाको लगत अनुसार ७४ प्रतिशत मुद्दा फैसला भएको हो । यस वर्ष मुद्दाको संख्यासमेत बढेको सम्बन्धबिच्छेदको मुद्दा बढी रहेको जिल्ला न्यायाधीश कोइरालाले जानकारी दिए ।