पर्यटन/संस्कृति

घरघरमा रोपियो तुलसीको बिरुवा

काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोपेका छन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिएको हो ।

तुलसीलाई आजैदेखि कार्तिक शुक्ल एकादशीसम्म नित्य पूजा आरधना गरिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नु हुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । हरिबोधिनी एकादशीका दिन तुलसीको दामोदरसँग विवाह गरी मार्ग शीर्ष कृष्ण पञ्चमीका दिनसम्म उद्यापन गर्ने विधि छ ।

वैज्ञानिकरुपमा पनि तुलसीमा धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

चतुर्मासभर नै काठमाडौँको बूढानीलकष्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने गर्छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

पशुपतिमा हजार तुलसीका बिरुवा वितरण

यसैबीच पुडासैनी मैत्री समाजले आज पशुपतिमा हजार तुलसीका बिरुवा वितरण गरेको छ । समाजले राम र कालो तुलसी जातका बिरुवा निःशुल्क वितरण गरेको हो ।

पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा बिहान ७ बजेदेखि तुलसीको बिरुवा वितरण गरिएको थियो ।

प्रतिव्यक्ति तीन वटा तुलसीका बिरुवा वितरण गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । घरघरमा तुलसी रोपेमा बिग्रँदै गएको वातावरण स्वच्छ बनाउन सकिने विश्वास छ ।